सुनसरी / नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यबस्थापन कार्यालय ईटहरीको आयोजनामा सञ्चालन भएको ट्राफिक सप्ताह कार्यक्रम छलफल तथा अन्तरक्रिया गरी सम्पन्न भएको छ ।
गत असार १९ गते विराटनगरमा कोशी प्रदेशका तत्कालिन मुख्य मन्त्री हिक्मत कुमार कार्कीको प्रमुख आतिथ्यतामा एक कार्यक्रमको आयोजना गरी कोशी प्रदेशका १४ वटा जिल्लामा एक साथ ट्राफिक सप्ताह कार्यक्रम सुरू गरिएको थियो ।
उक्त कार्यक्रमको आज कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलाको प्रमुख आतिथ्यतामा धरानको बाणिज्य हलमा एक कार्यक्रमको आयोजना गरी सम्पन्न भएको हो । ट्राफिक सप्ताहको समापन कार्यक्रममा प्रमुख अतिथी बास्तोलाले सहभागीहरुबाट उठेका विविध जिज्ञासाहरुको सम्बोधन गर्नुका साथै कार्यक्रम सवारी दुर्घटना न्युनिकरणमा कोसेढुङगा साबित हुने बिश्वास ब्यक्त गर्दै सवारी दुर्घटना न्युनिकरणमा अन्य सरोकारवाला सबै पक्षको उतिकै साथ र सहयोग हुनेमा आफु बिश्वस्त रहेको प्रहरी नायव महानिरीक्षक बास्तोलाले बताए ।
ट्राफिक सप्ताह कार्यक्रमको पहिको दिन शुभारम्भका साथै १४ वटै जिल्लामा सचेतना मुलक कार्यक्रमहरु संचालन गरिएको थियो । दोस्रो दिन असार २० गते तिब्र गति र सडक पार्किङ निशेध सम्बन्धी, असार २१ गते लेन अनुशासन पालना सम्बन्धी, असार २२ गते सिटी रिक्सा चालक तथा शैक्षिक संस्थाका चालकहरुलाई प्रशिक्षण, असार २३ गते सवारी चालकहरुको स्वास्थ तथा सवारीको यान्त्रीक परिक्षण, असार २४ गते लागु पदार्थ सेवन परिक्षण सम्बन्धी कार्यक्रमहरु संचालन गरी आज सोमबार समापन भएको हो ।
ट्राफिक सप्ताहको सात दिनमा प्रदेशका १४ वटै जिल्लाका तिन हजार ५ सय ४२ स्थानमा सचेतना मुलक कार्यक्रमहरु संचालन गरिएको थियोे । ९३ हजार ५ सय ४० जना मानिसहरु प्रतक्ष्य लाभान्वित भएका नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यबस्थापन कार्यालय ईटहरीका प्रमुख प्रहरी उपरीक्षक श्याम कुमार महत्तोले बताए ।
समापन कार्यक्रममा अन्य सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधीहरु, स्थानीय जन प्रतिनिधीहरु, यातायात ब्यबसायीहरु, बिभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधीहरुको उपस्थिति रहेको थियो ।


