सुनसरी / सप्तकोसी नदीमा शुक्रबार खसेको मालवाहक ट्रक निकालिएको छ ।
बससँग ठोक्किएर कोसीमा खसेको मे १ ख ३००७ नम्बरको ट्रक आज निकालिएको हो । क्रेनको सहयोगमा नदीबाट ट्रक निकालिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
सुनसरी र सप्तरीको सीमा छुट्याउने कोसी ब्यारेज पुलको १० नम्बर ढोका अगाडि बससँग ठक्कर हुँदा ट्रक सप्तकोसी नदीमा खसेको थियो ।
ट्रक र बस ठोक्किएर दुर्घटना हुँदा ब्यारेजको १० नम्बर ढोकाको बार भत्किएको छ । ट्रकका चालक २४ वर्षीय दिनेश खत्री सामान्य घाइते भएका थिए भने अन्य दुई जनाको अवस्था सामान्य रहेको प्रहरीको भनाइ छ । बसमा सवार यात्रु भने सकुशल छन् । घटनाबारे अझै अनुसन्धान भइरहेको सुनसरी प्रहरीले जनाएको छ ।


