विराटनगर : नेकपा एमालेले कोशी प्रदेशमा संविधान विपरीत सरकार गठन भएको भन्दै त्यसलाई विघटन गर्न माग गरेको छ ।
शनिबार केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले संविधान विपरीत सभामुखको हस्ताक्षर लिएर सरकार बनेको भन्दै त्यसलाई भंग गरेर नयाँ प्रक्रिया सुरु गर्न माग गरेको उपमहासचिव प्रदीप ज्ञावलीले जानकारी दिए ।
बैठकले असंवैधानिक ढंगले गठन गरिएको कोशी प्रदेश सरकार भंग गरी सरकार गठनको संविधानसम्मत प्रक्रिया तत्काल सुरू गर्न माग गरेको उनले बताए ।
बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै ज्ञावलीले संविधानले कहीँ पनि सभामुखको पक्षधरताको परिकल्पना नगरेको बताउँदै सरकार गठनमा सभामुखको संलग्नता असंवैधानिक भएको बताए । उनले भने, ा सभामुखले दलीय आबद्धताबाट अलग हुने प्रचलन रहेको छ । अझ, सरकार गठन गर्ने या हटाउने सन्दर्भमा सभामुख स्वयं संलग्न हुने कुरा त नेपालको संविधान, नियन्त्रण र सन्तुलनका विश्वव्यापी मूल्यमान्यता एवं हाम्रा आफ्नै लोकतान्त्रिक र संसदीय अभ्यासमाथिको नाङ्गो प्रहार हो भन्ने कुरा स्वतः स्पष्ट छ । नेकपा (एमाले) सत्ता गठबन्धनका यस्ता असंवैधानिक कदमको भ्रत्र्सना गर्दछ।’
तत्कालीन एमालेका हिक्मतकुमार कार्की नेतृत्वको सरकारले विश्वासको मत नपाएर सरकार ढलेपछि सभामुख बाबुराम गौतमको समेत हस्ताक्षर प्रयोग गरेर नेपाली काँग्रेसका उद्धव थापा कोशीमा मुख्यमन्त्री छन् ।
थापा नेतृत्वको सरकार असंवैधानिक प्रक्रियाबाट गठन भएको भन्दै एमालेले सर्वोच्चको रिट दायर गरेको छ । अदालतले पनि प्रारम्भिक सुनुवाइ गर्दै सरकारलाई दीर्घकालीन असर पुग्ने निर्णय नगर्न अन्तरिम आदेश दिइसकेको छ ।


