इटहरी / दाताहरुको सहयोगबाट सञ्चालन हुदै आएको इटहरीमा रहेको निःसहाय बालबालिका सेवा आश्रमलाई १ लाख ११ हजार नगद सहयोग गरिएको छ ।
अमेरिकामा बसोबास गर्दै आएका आचार्यले आश्रममा एक लाख एघार हजार एक सय एघार रुपैया नगद सहित बालबालिकाहरुलाई लत्ताकपडा लगायत सहयोग गरेका छन् ।
आश्रमका बालबालिकाहरुलाई सहयोग गर्न अमेरिकामा बसोबास गर्ने नेपालीहरुले स्थापना गरेको लायन्स क्लब अफ क्वीन्समा रहेका तथा आफु काम गर्ने होटलका साथीहरु समेतबाट संकलित रकम र आफुले थप गरेर सहयोग उपलब्ध गराएको आचार्यले बताए ।
वि.स.२०४४ सालमा स्थापित निःसहाय बालबालिका सेवा आश्रममा दाताहरुको सहयोगले ठुलो महत्व राख्ने बताउदै आश्रमकी सञ्चालिका गिता गौतमले सात समुन्द्रपारबाट आएर समेत सहयोग उपलव्ध गराउनु भएको भन्दै खुशी लागेको बताइन् ।
इटहरी उपमहानगरपालिका वडा नम्बर ४ मा रहेको यस आश्रममा हाल ४८ जना बालबालिकाहरुले आश्रय लिदै आएका छन् । 


