विराटनगर / विराटनगर महानगरपालिकाले आज देखि लागु हुने गरी जाेगवनी नाकामा कडाइ गर्ने भएको छ । सीमावर्ती क्षेत्रका भारतिय बजारमा ग्राहकको भिड लागेपछि सम्बन्धित निकायले यसलाई चासो राखेर नियन्त्रण गर्न अभियान थालेको छ । 


महानगरको आग्रहमा जिल्ला प्रशासन कार्यालय मोरङ, जिल्ला प्रहरी, सशस्त्र प्रहरी, आन्तरिक राजश्व कार्यालय, व्यापार संघ, उद्योग संगठन, नेपाल उद्योग वाणिज्य महासंघ कोसी प्रदेश, विराट व्यापार संघ, उद्योग परिसंघ र विराटनगर भन्सार कार्यालयले सामूहिक ऐक्यबद्धता नै जनाएर कडाइ गर्ने भएका हुन ।


नाकाबाट भ्याट छली गरी कराैडाै मूल्यका सामानहरू भित्रिन थाल्दा नेपाली बजार सुनसान बन्दै गएको र धेरै व्यवसायहरू पलायन नै हुनुपर्ने अवस्था आएकोले जाेगवनीमा कडाइ थालिएको मोरङका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले बताए । 


घरायशी प्रयोजनका लागि भन्दै दैनिक हजारौं नेपाली उपभोक्ता जोगवनी बजारमा किनमेल गर्न जाने गरेका छन् । नेपाली बजारमा भन्दा भारतीय बजारमा सस्तो मूल्यमा सामान पाइने भएकाले नेपालीहरु जोगवनी जाने गरेका छन् ।


भारतीय बजारमा उपभोग्य बस्तुहरू सस्तो तर गुणस्तरहीन सामग्री बिक्री हुने गरेकाे तथ्यलाई मध्यनजर गर्दै विराटनगर महानगरको पहलमा साउन एक गतेबाट सय रूपैयाकाे सामान किन्दा पनि अनिवार्य भन्सार शुल्क लगाइइएकाे बुझिएको छ ।


नाकाका बजारमा सस्तो सामान बिक्री गरिदिँदा नेपाली बजार फस्टाउन नसकेको र धेरै जसो व्यवसायहरू बन्द भइसकेको कारण जाेगवनी नाकामा कडाइ गर्नुपर्ने अवस्था देखिएको विराटनगर महानगरपालिकाले जनाएको छ ।