सुनसरी / २०७४ सालको बाढीले बगाएको मोरङको बेलबारी लोहन्द्रा खोलाको पुल र सुनसरी मोरङ सिंचाई आयोजनाको नहर बनेको छ ।
पुल र नहर बगाएको ६ बर्षपछि ३४ करोड ९ लाख रुपैयाँको लागतमा पुल निर्माण सम्पन्न भएको हो । उक्त पुल र नहरको मंगलबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले उद्घाटन गरे थिए ।
उक्त पुल र नहर बनेसँगै लोहन्द्रा खोलाबाट पूर्वको १४ हजार हेक्टर जमिनमा सिंचाई सुविधा पुग्ने भएको छ । यसअघि पुल र नहर बगाएसँगै उक्त जमिनमा सिंचाईको समस्या थियो । पुल र नहरको उद्घाटन पछि त्यस क्षेत्रका किसान तथा सर्वसाधरण खुसी भएका छन् ।
सुनसरी मोरङ सिंचाई आयोजनाका निर्देशक भिलानन्द यादवका अनुसार १ सय ५३ मिटर लम्बाइको पुलमा ६ वटा स्प्यान रहेको छ । १६ मिटर गहिराइबाट उठाएको र १ डायमिटरमा रहेको पुल हाइवे स्टेण्डरमा बनाइएको हो ।
पुल र नहर निर्माणको लागि कूल लागत अनुमान ४७ करोड ३२ लाख थियो । निर्माण सम्झौता निर्माण व्यवसायी आशिष स्वामिनारायण आशिर्वाद जेभी धरान १० सँग २०७६ सालमा भएको हो ।
पुल निर्माण सम्पन्न गर्नुपर्ने समय २०८० को भदौ अन्तिम समयसम्म थियो । लगभग अढाई तीन महिना अगाडिनै पुल र नहर सम्पन्न भएको निर्देशक यादवले बताए । सुनसरी मोरङ सिंचाई आयोजनाले ६८ हजार हेक्टर (करिब १ लाख विगाहा) क्षेत्रफलमा खेती गर्न सिंचाई सुविधा पुर्याउँदै आएको छ । 


