सुनसरी / इटहरीका विकास गुरुङ झापाको बिर्तामोडमा आयोजित प्रदेश १ स्तरीय स्नुकर २०८० को च्याम्पियन बनेका छन् । उनले धरानका बालकुमार लिम्बूलाई पराजित गर्दै उपाधि चुमेका हुन् ।
बिर्तामोड स्नुकरले साउन ४ गतेदेखि आयोजना गरेको प्रतियोगितामा धरानका लिम्बूलाई बेस्ट अफ ११ मा ६-१ फ्रेममा पराजित गर्दै विकास गुरुङले नगद ५१ हजार र ट्रफी प्राप्त गरे । रनरअप बनेका लिम्बूले नगद २५ हजार र ट्रफीमा चित्त बुझाए ।
प्रतियोगिताकै बेस्ट प्लेयर फिदिमका सन्तोष राई बने । यस्तै, हाइएस्ट ब्रेक विराटनरका सरोज गौतम बने । उनको ब्रेक सर्वाधिक ९७ रह्यो । उनीहरुले जनही १०-१० हजार पाए ।
अन्तिम चारबाट बाहिरिएका विराटनगरका सरोज गौतम र विशाल निरौलाले जनही ५-५ हजार पाउन सफल बने । इमर्जिङ प्लेयर झापाका आकाश गजमेर बने । उनले पनि नगद ५ हजार पाए ।
प्रतियोगितामा प्रदेश १ का ८ वटा जिल्लाका ९६ जना खेलाडी सहभागी थिए । जसमा झापाका मात्र ५२ जना खेलाडी सहभागी भएको झापा जिल्ला बास्केट बल संघका अध्यक्ष प्रकाश लिङदेनले जानकारी दिए


