विराटनगर / कोशी प्रदेशमा नयाँ सरकार निर्माणका लागि सभामुख बाबुराम गौतमलाई राजीनामा गराएर सहमति निकाल्ने प्रयास भएको छ ।
नेपाली कांग्रेस र माओवादी केन्द्र कोसीका सभामुख गौतमलाई राजीनामा गराएर निकास खोज्ने प्रयास गर्ने भएका हुन् । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बिहान दुई दलका नेताबीच यो विषयमा छलफल भएको जनाइएको छ । सभामुखलाई राजीनामा गराएपछि मुख्यमन्त्री कसलाई बनाउने विषयमा पनि छलफल भइरहेको जनाइएको छ ।
कांग्रेसका उद्धव थापालाई नै मुख्यमन्त्री बनाउने कि नयाँ व्यक्ति अगाडि सार्ने कुरामा सहमति बन्न बाँकी रहेको नेताहरूको भनाइ छ । यी विषयबारे टुंगो लगाउने फेरि बैठक बस्ने सहमति भएको जनाइएको छ ।
सर्वोच्च अदालतले कोशी प्रदेशमा उद्धव थापाको मुख्यमन्त्री नियुक्ति बदर गरेपछि अर्को सरकार बनाउन रस्साकस्सी सुरु भएको छ । एमाले र काँग्रेस नेतृत्वका गठबन्धनका आफ्ना आफ्नै दाउपेच सुरु भएको छ ।
प्रदेश प्रमुख परशुराम खापुङ्गले संविधानको धारा १६८ (२) बमोजिम दुई वा दुई भन्दा बढी दलको समर्थनमा बहुमत पुर्याउन सक्ने सदस्यलाई दाबी गर्न १६ गतेसम्मको समय दिएका छन् ।


