सुन्दरहरैचा / इन्द्रपुर जेसिजले सामाजिक क्षेत्रको उतरादायित्व बहन गर्दै एक साता देखि बिभिन्न तालिमहरु आयोजना गर्दै आएका छन । भर्खरै सम्पन्न गरेको नेतृत्व बिकास तालिम संगै आज शनिबार मोरंगको सुन्दरहरैचा नगरपालिका वडा १ को सभाहलमा निर्णय तथा प्रस्तावना लेखन तालिम समपन्न गरेका छन्। दक्ष जनशक्ति उत्पादन, आफ्नो व्यक्तित्व बिकास संगै समाजमा नेतृत्वदायी भमिका निर्वाह गर्न तालिम संचालन गर्दै आएको हो।
शुक्रबार देखि सुरु भएको उक्त तालिम कार्यक्रममा नेपाल जेसिज बर्ष २०२३ मा एमटट लिएका एलएन गच्छदारले मुख्य प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए। निर्णय लेख्न तथा प्रस्तावना लेखन तालिमका लागि बिभिन्न संघसंस्थाका प्रतिनिधि गरी ४१ जनाको सहभागिता रहेको थियो।
उक्त तालिम समापन कार्यक्रमका प्रमुख अतिथि रहेका सुन्दरहरैंचा नगरपालिका नगर प्रमुख केदार प्रसाद गुरागाईंले प्रशिक्षार्थी सहभागीलाई शुभकामना दिदै जेसिज समाजिक संस्था नभए पनि जेसीजमा लागेका मनहरु समाजिक ब्यक्ति भएको भन्दै जेसिजले यस किसिमको तालिम मार्फत दक्ष जनशक्ति उत्पादन गरि बजार प्रतिष्पर्धामा उतार्न र नेतृत्व बहनको भूमिका खेलेको उल्लेख गरे।
सफल रुपमा तालिम लिएकी निशा बस्नेतले तालिम उपलब्धि मुलक रहेको र तालिमबाट आफु निकै प्रभावित भएको बताईन। त्यसै गरी सहभागी मन्दिरा अधिकारीले तालिम लिएपछि आफुले ब्यबहारमा उतार्ने र प्रशिक्षकले मैत्रीपूर्ण खेल, मनोरन्जनात्मक विधिबाट तालिम दिएको बताईन ।

