सुनसरी / संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डमरूप्रसाद निरौलालाई हाजिर पत्र लेखेको छ।
सोमबार निरौलासँग केही कुरा बुझ्नुपर्ने भएकाले २४ घण्टाभित्र मन्त्रालयमा उपस्थित हुन अनुरोध गरेको हो। ‘तपाईंसँग केही कुरा बुझ्नु पर्ने भएको हुँदा २४ घण्टाभित्र यस मन्त्रालयमा उपस्थित हुन साउन १५ को निर्णयानुसार अनुरोध छ,’ उक्त पत्रमा भनिएको छ।
यता , निरौला र एक महिलाबीच नगरपालिकाकै क्वाटरमा आपत्तिजनक भिडियो सार्वजनिक भएपछि प्रमुख प्रशासकीय अधिकृत निरौलाको कार्यकक्षमा तालावन्दी गरिएको छ । नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघले प्रमुख प्रशासकीय अधिकृत निरौलाको कार्यकक्षमा तालाबन्दी गरेको हो ।
मदिराको नशाले लट्ठ भएर अनैतिक हर्कत गरेको भिडियो टिकटकबाट सार्वजनिक भएपछि निरौला अहिले विदामा छन् । आफूले प्रयोग गर्दै गरेको सिम कार्ड नगरपालिकालाई प्रदान गर्दै उनी विदामा बसेका हुन् । उनले नगर प्रमुख राम थापासँग मौखिक विदा मागेको बताइएको छ ।
उनको हर्कत बाहिरिएसँगै राष्ट्रिय युवा संघका जिल्ला अध्यक्ष राम पौडेलले नगर उपप्रमुख रेगिना भट्टराई प्रसाईँलाई ज्ञापनपत्र बुझाउँदै निरौलाको यो हर्कतले सिङ्गो दमककै बेइज्जत भएकाले उनलाई तत्काल कारबाही माग गरेका छन् ।
आइतबार नगर कार्यपालिकामा प्रतिनिधित्व गर्ने १५ जना कार्यपालिका सदस्यहरूले सामूहिक रुपमा कारबाहीको माग गर्दै विज्ञप्ति जारी गरेका थिए ।


