काठमाडौं / राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले सरकार टिकाउने र बनाउने खेलमा सभामुखलाई राजीनामा गर्न लगाउनु जालझेल भएको बताएका छन् ।
मंगलबार विराटनगर विमानस्थलमा पत्रकारसँगको कुराकानीमा उनले कोशी प्रदेशमा सरकार बनाउन सभामुखको राजीनामा दिनु जालझेलपूर्ण काम हुने बताए । उक्त कदमले मुलुक संविधानले परिकल्पना नगरेको बाटोमा जाने उनको भनाइ छ । लिङदेनले कोशीको वर्तमान सत्ता संकट र मध्यावधिको अवस्थालाई रोक्न एमाले र कांग्रेस मिलेर सरकार बनाउनुपर्ने बताए ।
उनले भने “हिजो सभामुखलाई हस्ताक्षर गराएर समस्या आयो, आज सभामुखलाई राजीनामा गराउने भन्दै हुनुहुन्छ, ज्येष्ठ सदस्यलाई मन्त्री बनाउने भन्दै हुनुहुन्छ, तपाईंहरूले ज्येष्ठ सदस्यलाई मन्त्री बनाएपछि एमालेको ज्येष्ठ सदस्यले चाहिँ थपक्क मानिहाल्छ ? राप्रपाको ज्येष्ठ सदस्यले थपक्कै मानिहाल्छ ?”
लिङदेनले सभामुखलाई राजीनमा गराउर जेष्ठ सदस्यलाई मन्त्री बनाउने र सभाको सञ्चालन राप्रपा र एमालेका सांसदले गर्ने अवस्था बनाए प्रतिकार गर्ने चेतावनी दिए । उनले भने ‘नेपाली कांग्रेसले ज्येष्ठ सदस्यलाई मन्त्री बनाए नेकपा एमाले र राप्रपातर्फका ज्येष्ठ सदस्य पनि संसद्मा अनुपस्थिति हुनेछन् ’ । उनले बताए ।


