विराटनगर / कोशी प्रदेशको मुख्यमन्त्रीमा पुनः नेपाली कांग्रेस प्रदेश संसदीय दलका नेता उद्धव थापा नियुक्त भएका छन् ।
थापालाई आज प्रदेश प्रमुख परशुराम खापुङले मुख्यमन्त्रीमा नियुक्त गरेका हन् । उनले आफूलाई कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका गरी ४७ सांसदको समर्थन रहेको भन्दै मुख्यमन्त्रीमा नियुक्त गर्न माग गरेका थिए ।
थापा यसअघि पनि कोशीको मुख्यमन्त्री बनेका थिए । तर उनको नियुक्ति प्रक्रिया असंवैधानिक ठहर गर्दै सर्वोच्चले बदर गरेपछि मुख्यमन्त्रीबाट पदमुक्त भएका थिए ।
थापाले आफूलाई कांग्रेसका २९, माओवादीका १३, एकीकृत समाजवादीका ४ र जनता समाजवादी पार्टीका १ गरी ४७ सांसदको समर्थन रहेको भन्दै मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए । ९३ सदस्यीय कोशी प्रदेशसभामा सरकार गठनका लागि ४७ सांसदको समर्थन आवश्यक हुन्छ ।
यसअघि असार २१ गते मुख्यमन्त्रीमा नियुक्त भएका थापाको नियुक्ति प्रक्रिया सर्वोच्च अदालतको पूर्ण इजलासले बदर गरिदिएको थियो ।
साउन ११ गते सर्वोच्च अदालतले थापाको मुख्यमन्त्री नियुक्ति प्रक्रिया असंवैधानिक भएको भन्दै पद बदर गरेको हो । नवनियुक्त मुख्यमन्त्री थापाले भोलि पद तथा गोपनियताको शपथ लिने बताइएको छ ।


