इटहरी : ठगी तथा बैंकिङ कसुर मुद्दामा उच्च अदालत विराटनगरले इटहरीका लालबहादुर बिकलाई निर्दोष ठहर गरेको छ । सुनसरी जिल्ला अदालतले मतियारको रूपमा दोषी ठहर्‍याउने आदेशलाई उल्ट्याउदै विश्वकर्मालाई उच्च अदालत विराटनगरले सफाइ दिएको हो ।

उच्च अदालतका न्यायाधीशद्वय विपुल न्यौपाने र मिलनकुमार राईको इजलासले मुद्दा सुरु भएको सुनसरी जिल्ला अदालतको आदेश 'उल्टि' गरेको हो । तरहरास्थित सिंहदेवी ज्वेलर्सका मालिक दीपक परियारको आदेशअनुसार मजदुरको रूपमा काम गरिरहेका लालबहादुरबाट जिल्ला अदालतले झण्डै ५ करोडसमेत भराउन आदेश दिएको थियो ।

जिल्लाले गरेको फैसलाविरुद्ध आफू निर्दोष रहेको बताउँदै विक उच्च अदालत गएका थिए । उच्च अदालतमा पटकपटक मुद्दा पेसीमा चढे पनि धेरै पटक हेर्न नमिल्ने र स्थगित हुने गरेकाे यो मुद्दामा आज फैसला भएको हो।

उच्चको आदेश संगै विश्वकर्मा बुधबार कारागार मुक्त हुनेछन् । क्षेत्रीय कारागार झुम्कामा कैदीबन्दीको रुपमा रहेका विश्वकर्मालाई प्रक्रिया पूरा गरि बुधबार छोड्ने कारागार कार्यलयले जनाएको छ ।