सुनसरी / कोशी राजमार्गमा पर्ने धरानको सेउती पुल नजिकै चारकोसे जङ्गलको छे पुलमा गोली हानी युवकको हत्या गरेको प्रकरणमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छन् ।
गत साउन ५ गते धरान-तरहरा सडकखण्डअन्तर्गत चारकोसे जङ्गलमा अज्ञात समूहले गोली चलाउँदा घाइते भएका विराटनगर महानगरपालिका-५ का २८ वर्षीय रोहित चौधरीको उपचारका क्रममा मृत्यु भएको थियो ।
उनीहरूलाई आज दिउँसो तीन बजे कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने तयारी रहेको प्रहरीले जनाएको छ ।
घटना भएको १२ दिनपछि प्रहरीले दुई जनालाई पक्राउ गरेको हो । चौधरीको हत्या आरोपमा पक्राउ परेका आरोपीहरूको साथबाट पेस्तोल पनि बरामद भएको जिल्ला प्रहरी कार्यलय धरानले जनाएको छ ।
चौधरीमाथि धरान–इटहरी सडकखण्डको सेउती पुलनजिकै गोली प्रहार भएको थियो । साथीसँग मूलघाटबाट विराटनगर आउने क्रममा जङ्गलमा उनको दाहिने कोखमा गोली लागेको थियो ।
सेउती पुलको बीचबाट जङ्गलपट्टि मोटरसाइकल रोकेर बसिरहेको अवस्थामा तीन जनाको समूहमा आएका युवामध्ये एक जनाले रोहितलाई गोली प्रहार गरेका थिए ।
धनकुटामा घुमेर घर फर्कँदै गर्दा थकाइ लागेर सेउती पुलमा मोटरसाइकल रोकेर उनीहरू बसेका थिए । त्यसैबेला आएको समूहले रोहितमाथि गोली चलाउँदै उनको साथमा रहेको नगद र मोबाइल फोन लुटेर फरार भएका थिए ।


