सुनसरी / इटहरी घर भएका एक बालकको मोरङको सुन्दरहरैँचास्थित हसिना सिमसारमा डुबेर मृत्यु भएको छ ।
इलाका प्रहरी कार्यालय बेलबारीका अनुसार इटहरी उपमहानगरपालिका- ३ घर भएका १६ वर्षीय अभिनन्दन आचार्यको मृत्यु भएको हो । आचार्यलाई सुन्दरहरैँचा नगरपालिका - ५ स्थित हसिया सिमसारमा डुबेको अवस्थामा मृत फेला पारिएको थियो ।
साथीहरुसँग सिमसार घुम्न गएका आचार्य दिउँसो ३ बजेतिर पौडी खेल्न भनेर बाँधको पानीमा छिरेको प्रहरीले जनाएको छ । उनी पौडी खेल्न जान्दैन थिए । पौडी खेल्ने क्रममा दहबाट बाहिर निस्कन नसक्दा डुबेर मृत्यु भएको प्रहरीको भनाइ छ ।
प्रहरीका अनुसार किशोरसँगै घुम्न गएका अरु साथीहरु भने सकुशल छन् । प्रहरीले शवलाई दहबाट बाहिर निकालेर पोस्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगेको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


