सुनसरी / भोजपुरको अरुण गाउँपालिका वडा नम्बर ७ मा श्रमदान मार्फत दुइ दिनमा करिव सात किलोमिटर सडक मर्मत सम्भार तथा सरसफाई गरिएको छ ।
युवा पलायन हुने र बसाइँसराइको लहरले गाउँघरमा बुढाबुढी र बालबालिका अनि कमै मात्र वस्तीहरू छन् । गाउँघरको अहिलेको स्थिति हेर्ने हो भने जिउदाको जन्ती र मर्दाको मलामी भन्ने कहावत नै हराउने अवस्था आइ सकेको छ।
यस्तै विकास निर्माणको काममा पनि उपभोक्ताको लगानी र समय शुन्य प्रायः हुन थालेको छ । दशै, तिहार लगायतका चाडपर्वमा गाउँले मिलेर बाटो बनाउने, सरसफाई गर्ने जस्ता काम बिरलै मात्रामा देख्न पाइन्छ । खानेपानीका लागि श्रमदानबाटै अधिकांस काम हुने गर्थे । पाईप किनेर ल्याउने बाहेकका काम सबै उपभोक्ताले गर्ने चलन आजकल शुन्य जस्तै भैसकेको छ ।
आफ्नो गाउ आफै बनाउ भन्ने श्रमदान अभियानहरू हराउदै गरेको पाइन्छ । श्रमदान र उपभोक्ताको लगानी नभएपछि अधिकांस काम ठेक्कामा दिंदा ठेकेदारले न्युनतम कम मूल्यमा घटेर काम गराउँदा काम गुणस्तरहिन हुने गरेका छन् ।
अर्को तर्फ पछिल्लो समय निम्तिएको आर्थिक मन्दीका कारण सानातिना योजनाका लागि बजेट विनियोजन गर्ने अवस्था नहुँदा स्थानिय तहमा बिना बजेट श्रमदानमार्फत सडक मर्मत तथा सरसफाई अभियान सुरु हुन थालेका छन् ।
यस्तै भोजपुरको अरुण गाउपालिका वडा नम्बर ७ मा वडा अध्यक्ष कुमार थापाको नेतृत्वमा श्रमदान अभियान सुरु भएको छ । बर्खाको समय पहिरो र सडक कटान हुँदा आवतजावत गर्न भैरहेको समस्यालाई मध्यनजर गर्दै थापाले श्रमदान मार्फत सडक मर्मत तथा सरसफाई अभियान सुरु गरेका हुन् ।
थापाको नेतृत्वमा शुक्रबार सिक्रेटार अन्तर्गत खाल्ले भन्ज्याङ देखि अरुण गा.पा. ५ ऐसेलुडाँडा खरिवोटे सम्म करिव ४ किलोमिटर सडक र शनिबार अरुण गा.पा. ७ सिक्रेटार अन्तर्गत ढुङ्गेबाट खाल्ले साकेवा प्रा.वि सम्म करिव ३ किलोमिटर गरि दुइ दिनमा लगभग ७ किलोमिटर सडक मर्मत तथा सरसफाई भएको छ ।
थापाको श्रमदान अभियानले छोटो समयमै यति धेरै काम भएको देख्दा आफु हर्षित भएको र आगामी दिनमा पनि आफ्नो साथ सहयोग रहने स्थानिय बासि बताए ।
कमिसनको चक्करमा हरेक काम ठेक्का प्रक्रिया मार्फत नै गराउन खोज्ने र बजेट सिध्याउने मेलोमा रहेका जनप्रतिनिधिलाई थापाको कामले दवाब दिएको, र काम गर्ने लाइ र गर्न खोज्ने लाइ सबैले साथ दिने साथै उपभोक्तालाई नेतृत्व मात्र गर्ने हो भने पनि असम्भव काम पनि सम्भव हुने धारणा, नाम नबताउने सर्तमा अर्का वडाका एक जनप्रतिनिधिले बताए ।

यस्तै हामि संग कुरा गर्दै अध्यक्ष थापाले बृहत् श्रमदान कार्यक्रमलाई निरन्तर अगाडि बढाउदै श्रमदान कार्यक्रम मार्फत नै वडा भरीका सडक तथा बाटाघाटाहरु साथै खाने पानीको मुहान संरक्षण लगाएतका क्षेत्रमा समेत बिस्तार गर्ने साथै अभियानलाई सफल पार्न सम्पूर्ण वडा वासीमा अनुरोध गरेका छन् ।

स्थानिय बासि आफ्नै घरको कुटो, कोदालो, बेल्चा, जम्पल र खाजा लिएर श्रमदानमा आउने गरेका छन्। सानातिना विकास निर्माण सम्बन्धी योजनाका लागि सरकारको मुख ताक्ने प्रवृत्तिलाई न्युनीकरण गर्दै हरेक स्थानिय तहमा श्रमदान अभियान अघि बढाउने हो भने आफ्नो विकास आफैँबाट भन्ने मान्यतालाई कार्यान्वयन गर्न सकिने देखिन्छ ।


