काठमाडौं / देशका विभिन्न भू–भागमा अहिले भारी वर्षा भइरहेको छ । भारी वर्षासँगै देशका विभिन्न कठाउँमा रहेका नदीहरूमा पानीको बहाव बढेको छ ।
हाल बागमतीको जलमापन केन्द्रमा जलसतहले खतरा तह पार गरेको र बढ्दो क्रममा रहेकाले रौतहट र सर्लाहीका बागमती नदी तटीय क्षेत्रमा हुनेहरूले आज बेलुका सम्मै उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।
त्यस्तै बर्दियाको बबई र कर्णाली नदीको बाढी खतराको तहसम्म पुगेको छ । दाङका लमही र लालमटिया तथा बाँकेको कुसुमस्थित वर्षा मापन केन्द्रमा पनि भारी वर्षा मापन भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
कमला नदी, सिन्धुली रानीबासस्थित जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको छ । सिन्धुलीबाट तल्लो तटीय तथा डुबान भइरहने क्षेत्रहरूमा रहनेहरू बिहान अबेरसम्म सतर्कता अपनाउनु पर्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
त्यस्तै कञ्चनपुर र कैलालीको धेरै स्थानमा भारी वर्षा भएको छ । कान्द्रा, दोधा, मोहना, खुटीया, सुहेली, चौधर, रंघुन, पन्टुरालगायत उक्त जिल्लाको साना खहरे खोलाहरूमा एक्कासि बाढी आउन सक्ने भएकाले तटीय क्षेत्र तथा डुबान भइरहने होचा भू–भागमा रहनेहरूलेसतर्कता अपनाउन महाशाखाको आग्रह छ ।


