सुनसरी / संखुवासभा जिल्ला कारागारमा दुईजना कैदीबन्दीको मृत्यु भएको छ । मृत्यु हुनेमा मादी नगरपालिका- ५ का १९ वर्षीय विनोद तोलाङ्गी र नुवाकोट ककनी गाउँपालिका -७ का २८ वर्षिय आकाश वलामी रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका डिएसपी वीरेन्द्र गोदारले जानकारी दिए।


गएराति १ बजे कारागारको ट्वाइलेटबाट भाग्ने क्रममा रहेका उनीहरुलाई कारागार प्रहरीले पक्राउ गरी कारागार प्रशासनलाई बुझाएको डिएसपी गोदारले बताए । उनीहरु बिहान ४ बजे कारागारभित्रै अचेत अवस्थामा फेला परेपछि उपचारका लागि जिल्ला अस्तालमा मृत्यु भएको  थियोे ।


उनीहरुको जिल्ला अस्पतालमा उपचारका क्रममा बिहान ६ बजे मृत्यु भएको थियोे । उनीहरुको शव अहिले  जिल्ला अस्पतालमा शवगृहमा राखिएको छ । बलात्कार मुद्दामा कैद सजाय भुक्तान गरिरहेका तोलाङ्गी र चोरी मुद्दामा कैद सजाय भुक्तान गरीरहेका बलामी कारागारबाट भाग्ने प्रयास गरेका थिए ।


उक्त घटनापछि जिल्ला कारागार परिसर क्षेत्र र बाहिरी क्षेत्रमा प्रहरी निरीक्षक भुवनबाबु खड्काको नेतृत्वमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । घटनाका विषयमा अहिले जिल्ला सुरक्षा समितिको बैठक जिल्ला प्रशासन कार्यालयमा बसिरहेको छ । घटनाको अनुसन्धानका लागि छानविन समिति गठन गरिने प्रमुख जिल्ला अधिकारी शिबकुमार कार्कीले जानकारी दिए ।