सुनसरी / कोशी प्रदेश नामाकरण खारेजी नभएसम्म विभिन्न ढंगले आन्दोलन जारी रहने आदिवासी जनजाति अगुवाहरुले बताएका छन् ।
बुधबार इटहरीमा २९ औ विश्व आदिवासी जनजाति दिवस मनाउने क्रममा आदिवासी जनजाति अगुवाहरुले कोशी प्रदेशमा आदिवासी जनजातिको मुद्दालाई दबाएर जर्वरजस्ती नामाकरण गरिएको बताए ।
उनीहरुले आदिवासी जनजातिको भावना विपरीत अघि बढ्ने प्रदेश सांसदप्रति आगामी दिनमा सचेत हुनुपर्ने बताए । विभिन्न जातजातिका झाँकी सहितको र्यालीका साथ इटहरी मुख्य चौकमा कार्यक्रमको आयोजना गरि दिवस मनाउने क्रममा नेपाल आदिवासी जनजाति महासंघ उपाध्यक्ष युवराज जिरेलले पहिचानवादीको मुद्दा दबाउने प्रदेश सांसदलाई खबरदारी गरि रहने बताए ।
नेपाल आदिवासी जनजाति महासंघ इटहरीको आयोजनामा सम्पन्न कार्यक्रमको समुघाटन इटहरी उपमहानगरपालिकाका नगर- प्रमुख हेमकर्ण पौडेलले गरेका थिए ।
कार्यक्रममा प्रदेशमा आदिवासी जनजाति तथा उत्पिडनमा परेकाहरूको मतबाट सत्तारोहण भएकाहरूले पहिचानको मुद्दालाई दबाउने काम गरेको आदिवासी जनजाति महासंघ सुनसरी अध्यक्ष राम माण्डुप्पा राईले बताए । कोशी प्रदेशको नामाकरण फागुन १७ गते भएपछि पहिचानवादी समूहले आन्दोलन चर्काउँदै आएका छन् ।


