सुनसरी : कानूनविपरीत नेटवर्किङ धन्दा चलाएको आरोपमा सुनसरीको इटहरी उपमहानगरपालिकाले स्थानीय तीन ओटा कम्पनीको कार्यालयमा ताला लगाएको छ ।
कानूनले प्रतिबन्ध गरेको नेटवर्किङ व्यवसायमार्फत बढी मुनाफा आर्जन हुने भन्दै सर्वसाधारणसँग लाखौँको ठगी गरेको जनगुनासोका आधारमा अनुगमन गरी तीन ओटा कम्पनीमा ताला लगाइएको उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले जानकारी दिए ।
कम्पनीमा ताला लगाउनुका साथै कम्पनीका सञ्चालकलाई तीन दिनभित्र उपमहानगरमा उपस्थित हुन निर्देशन दिएको पनि उनले स्पष्ट पारे । उनका अनुसार इटहरीलाई केन्द्रविन्दु बनाई कारोबार गरिरहेका ग्लोबल ओरेन्स, हेल्दी लिभिङ नेपाल र रोयल एसोसियट्स नामका तीन कम्पनीमा तालाबन्दी गरिएको हो ।
कानूनमा नेटवर्किङ र पिरामिड शैलीको व्यापार व्यवसाय गर्न नपाइने उल्लेख भए पनि कम्पनीहरूले गरिरहेको पाइएपछि उपमहानगर सरकारले कडाइ गरेको हो ।
नेटवर्किङ व्यवसाय चलाउनेहरूले सर्वसाधारणलाई विभिन्न बोनस तथा मुनाफाको प्रलोभन दिई आफूसँग अन्य मानिसलाई जोड्न उक्साएर लामो सञ्जाल बनाई सबैसँग रकम ठगी गरेर फरार हुने गरेका छन् ।
यस्ता कम्पनिहरुले जटिल रोग निको पारिदिने झुटो आश्वासनसमेत दिने गरेका छन् । चिकित्सा विज्ञानले नै निको पार्न नसक्ने रोगहरु निको पारिदिने भन्दै मानिसहरुलाई ठग्ने गरेको समेत उजुरीका आधारमा कम्पनिहरुमा अनुगमन गरी तालाबन्दी गरिएको हो ।
केही दिनअघि मात्र पनि उपमहानगरपालिकाले एकेएम कम्पनिमा अनुगमन गरी सञ्चालकहरुलाई बोलाएको थियो ।


