सुनसरी / मुस्ताङको वारागुङ मुक्तिक्षेत्र- ४ कागबेनीमा आइतबार राति ठाडो खोलामा आएको बाढीले १५ घरसहित एक निर्माणाधीन पक्की पुल बगाएको छ ।


वारागुङ मुक्तिक्षेत्र- २ को झोङ,पुडाक र छेङ्गुरको शाखा नदी थुनिएर कागखोलामा आएको बाढीले कागबेनीमा १० घर र पक्की पुलसहित करोडौँको भौतिक सामग्री बाढीले बगाएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी अनुप केसीले जानकारी दिए। कागबेनीमा रहेको प्रहरीचौकी, धर्मशालामा पनि क्षति पुर्‍याएको छ।


एउटा झोलुंगे पुल र तीन वटा विद्युत् पोल पनि ढलेकोले विद्युत् आपूर्ति बन्द भएको जनाइएको छ । आइतबार राति ११ बजेदेखि कागखोला र कालीगण्डकी नदीमा पानीको सतह घट्दै गएकोले सोमबार बिहानसम्म मानवीय क्षति नभएको मुस्ताङ प्रशासनले जनाएको छ । 


झोङ भन्ने स्थानमा पहिरो गई कागखोलामा मिसिएपछि बाढी तल कागवेनी बस्ती पसेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले पुष्टि गरेको छ । प्रहरीका अनुसार तीन दिनदेखि मुस्ताङमा पनि लगातार पानी परिरहेको छ ।


नेपाली सेना, सशस्त्र, नेपाल प्रहरी, जनप्रतिनिधि र कर्मचारीहरुको टोली कागबेनी क्षेत्रमा उद्धारका लागि खटिएको छ । गाउँपालिका अध्यक्ष रिङजिन नामगेल गुरुङका अनुसार वस्तीमा बाढी पस्न थालेपछि स्थानीयको भागाभाग भएको थियो ।


उहाँले स्थानीयलाई राति नै सुरक्षित स्थानमा सारिएकाले मानवीय क्षति नभए पनि भौतिक संरचनामा ठूलो क्षति पुगेको बताउनुभयो । बाढीले कागबेनीको पूजास्थल र बिजुलीका पोलसमेत बगाएको छ । विद्युत सेवा अवरुद्ध छ ।