सुनसरी / कोशी प्रदेशसभाका जेष्ठ सदस्य गयानन्द मण्डल उद्योग,कृषि तथा सहकारी राज्यमन्त्री बनेका छन् । नवनियुक्त मन्त्री मण्डलले पद तथा गोपनीयताको शपथग्रहण पनि गरिसकेका छन् ।


मण्डल मोरङ क्षेत्र नम्बर ५ को प्रदेश ‘क’ बाट निर्वाचित कांग्रेस सांसद हुन् । साउन १६ गते कांग्रेसका २९, माओवादीका १३, एकीकृत समाजवादीका ४ र जनता समाजवादी पार्टीका १ गरी ४७ सांसदको समर्थनमा मुख्यमन्त्री बनेका थापाले दोस्रो पटक मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।


थापाले मुख्यमन्त्री नियुक्त भए लगत्तै माओवादीका बाबुराम गौतमलाई आर्थिक मामिला तथा योजना, नेकपा (एकीकृत समाजवादी) का कमलप्रसाद जबेगुलाई भौतिक पूर्वाधार विकास र कांग्रेसका प्रदीपकुमार सुनुवारलाई खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री नियुक्त गरेका थिए । कठिन अंकगणितका कारण गठबन्धनको सरकार बनाउन बहुमत नपुग्ने भएपछि सभामुख बाबुराम गौतमले राजीनामा दिएका थिए ।


त्यसपछि थापाले साउन २६ गते जनता समाजवादी पार्टीकी एक्ली प्रदेश सांसद निर्मला लिम्बूलाई स्वास्थ्य मन्त्री नियुक्त गरेका थिए ।


त्यसो त अहिले पनि थापाले विश्वासको मत पाउने बलियो आधार भने अझै निर्माण भइसकेको छैन् । संवैधानिक प्रावधानअनुसार मुख्यमन्त्री थापाले ३० दिनभित्र विश्वासको मत लिनुपर्छ । विश्वासको मत लिने समय अब मुख्यमन्त्रीसँग १४ दिन बाँकी छ ।