सुनसरी / इटहरी उपमहानगरपालिकाले नगर क्षेत्रमा नियमविपरीत सञ्चालनमा रहेका सहकारी संस्था बन्द गर्ने भएको छ ।
उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले हिजो सामाजिक सञ्जाल फेसबुकमार्फत यसको जानकारी दिएका हुन् । सहकारीले आफूहरूको बचत फिर्ता नगरेको बचतकर्ताको गुनासोपछि केही सहकारीहरूलाई बचत फिर्ता गर्ने समय दिएकोमा सो समयभित्र पनि बचत फिर्ता नगरेपछि त्यस्ता सहकारी बन्द गर्न लागिएको मेयर पौडेलको भनाइ छ ।
उपमहानगरपालिकाका सहकारी शाखा प्रमुख बालकुमार पोख्रेलका अनुसार उपमहानगरपालिकाले बचत फिर्ता गर्न समय दिँदा पनि बचतकर्ताको रकम फिर्ता नगर्ने केही सहकारी संस्था बन्द गर्ने तयारी गरिएको छ ।
सहकारी शाखाले अहिले नगरका सहकारीहरूको अनुगमन गरिरहेको बताउँदै उनले अनुगमनको प्रतिवेदन मेयर पौडेलको अध्यक्षतामा रहेको नगर सहकारी समितिलाई बुझाइने र सोही प्रतिवेदनका आधारमा समितिले गर्ने निर्णयबमोजिम सहकारी बन्द गर्ने प्रक्रिया सुरु हुने उल्लेख गरे ।
जिल्ला सहकारी सङ्घ सुनसरीका अध्यक्ष गंगाप्रसाद दाहालसमेत सहभागी रहेको अनुगमन टोलीले सो सहकारीको बचत तथा ऋण कारोबारका साथै सञ्चालक, लेखा र ऋण समितिका पदाधिकारीको लगत निरीक्षण गरेको थियो ।
सहकारी शाखाले इटहरी ६ मा सञ्चालित हलेसी उपभोक्ता बचत तथा ऋण सहकारी संस्था ,इटहरी १७ स्थित परिवर्तन उत्थान सहकारी संस्था र अम्बे बचत तथा ऋण सहकारी संस्था लगाएतमा अनुगमन गरेको थियो । अहिले उपमहानगरले सहकारी संस्था अनुगमन तिव्र पारेको छ ।


