सुनसरी / इटहरी उपममहानगरपालिका वडा नं. २० मा अशक्त ज्येष्ठ नागरिकको ज्येष्ठ नागरिक सुरक्षा भत्ता सेवाको नवीकरणका लागि जनप्रतिनिधि घर पुगेर नवीकरण गर्दै छ ।
आर्थिक वर्ष २०८०।८१ सुरु भएसँगै साउन १ गतेदेखि ज्येष्ठ नागरिक सुरक्षा भत्ताको विवरण अद्यावधिक गर्न सुरु गरिएको इटहरी २० का वडाध्यक्ष मणिराम श्रेष्ठले बताए । वैदेशिक रोजगार वा अन्य कुनै सिलसिलामा विदेश पुगेका वा मृत्यु भइसकेका सेवाग्राहीको नाममा आउने भत्ता दुरुपयोग हुनसक्ने भएकाले त्यस्तो सम्भावना निराकरण गर्न सरकारले वार्षिक रूपमा विवरण अद्यावधिक गर्ने उनको भनाइ छ ।
इटहरी २० मा एक हजार एक सयभन्दा बढी जेष्ठ नागरिक रहेकोमा हाल सम्म ७५% नविकरण गरिसकेको इटहरी २० का वडा सदस्य तनुज गुरुङ (सुरेश)ले बताए ।
अहिले वडा सदस्य गुरुङसहित कर्मचारीहरू सामाजिक सुरक्षा भत्ता नवीकरणका लागि जेष्ठ नागरिकको घरमै खटिरहेका छन् । सेवाग्राहीहरूको विवरण भदौ पहिलो हप्तासम्म नवीकरण गरिसक्ने लक्ष्य लिइएको वडा सदस्य गुरूङले बताए ।
ज्येष्ठ नागरिकहरू अधिकांश शारीरिक रूपमा कमजोर वा अशक्त हुने हुँदा त्यस्ता सेवाग्राहीको भत्ता रकम सम्बन्धित टोलमै भुक्तान गर्ने व्यवस्था मिलाउन बैङ्कसँग छलफल गरिरहेको उनको भनाइ छ ।



