इटहरी । कार्यपालिका सदस्य प्रमोद शेर्पालाई संसदीय दलको उपनेताबाट हटाउन नेकपा एमाले १६ नं. वडा कमिटिले माग गरेको छ। पार्टीको हित विपरीतको गतिविधि गरेको भन्दै उनलाई फिर्ता गर्न कमिटिले पार्टीसँग माग गरेको हो ।
पार्टीको वडा कमिटि अध्यक्ष तथा सो वडाका वडाध्यक्षसमेत रहेका तेजनारायण चौधरीले शेर्पालाई कारवाहीका लागि सिफारिस गरेको पुष्टि गरेका छन् ।
शेर्पालाई अल्पसंख्यक कोटाबाट कार्यपालिका सदस्य बनाइ पार्टीले संसदीय दलको उपनेतासमेत बनाएको थियो । उनी नेकपा एमाले प्रदेश सचिवालय सदस्यसमेत हुन् । तर कार्यपालिकामा सहभागि उनले लगातार पार्टी हितविपरीत काम गरेको आरोप लागेको छ ।
पछिल्लो समय शेर्पाले आफू व्यवस्थापन समिति अध्यक्ष रहेको स्कुलमा प्रधानाध्यापक नियुक्तिमा आफ्नै पार्टीबाट निर्वाचित वडाध्यक्षलाई वेवास्ता गरेको एमाले वडा कमिटिको आरोप छ । स्थानीय सरस्वती जब्दी स्कुलको व्यवस्थापन समिति अध्यक्ष समेत रहेका शेर्पाले आफूलाई सहभागि नगराइ प्राधानाध्यापक फेर्ने निर्णय गराएको चौधरीको आरोप छ ।
यस्तो निर्णय गर्दा नियमितः वडाध्यक्षसमेतको सहभागिता आवश्यक पर्नेमा शेर्पाले आफूलाई नबोलाएको चौधरीको भनाई छ ।
‘इटहरी उपमहानगरपालिकाको हस्तक्षेपमा वडाध्यक्षलाई बाइपास गरेर नियमवपिरीत काम गरिएको छ,’ चौधरीले भने, ‘म चुप लागेर बसेँ भने मैले पनि सहभागिता जनाएको ठहर्छ, त्यसैले मैले यो काम गलत हो भनेर आफ्नो तर्फबाट लेखेर पठाएँ ।’
त्यसो त कार्यपालिकामा शेर्पाको भूमिका सुरुदेखि नै पार्टीको पक्षमा नदेखिएको एमाले जनप्रतिनिधिहरुबिच चर्चा चल्ने गरेको थियो ।
यता शेर्पाले उनले आफूलाई औपचारिक जानकारी नआएको बताए । प्रअ फेर्न आफू एक्लैले नभइ समग्र व्यवस्थापन समितिले निर्णय गरेको बताए । वडाध्यक्षलाई प्राध्यानाध्यापकले बोलाउने नियम रहेको र सोअनुसार प्रधानाध्यापकले बोलाउँदा भ्याउँदिन भन्ने जवाफ दिएको शेर्पाले बताए ।


