काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले पर्यटन ऐनलाई संशोधन गरेर सरकार अगाडि बढ्ने बताएका छन् । पर्यटक प्रहरीका जवान तथा जुनियर प्रहरी अधिकृतको प्रथम समूहको तालिम समापनमा बोल्दै उहाँले पर्यटन क्षेत्रको विकासका लागि पर्यटन ऐनलाई संशोधन गर्न मन्त्रालय लागेको बताए ।
पर्यटनमन्त्री किरातीले स्रोतसाधनको अभावकाबीच पनि पर्यटक प्रहरीले उत्कृष्ट रुपमा कार्यसम्पादन गरे , पर्यटन क्षेत्रले मात्र देशको विकास र आर्थिक उन्नती हुने उनको भनाइ थियो ।
उनले अथाह पर्यटकीय सम्भावना भएको मुलुक नेपालको पर्यटनलाई विश्व बजारमा लैजानका लागि पर्यटक प्रहरीले खेलेको भूमिका सराहनीय रहेको बताए । उच्च निष्ठावान भएर मन, बचन र कर्मले काम गर्न उहाँले पर्यटक प्रहरीलाई निर्देशनसमेत दिए ।
तालिम संयोजक, प्रहरी उपरीक्षक चित्रबहादुर गुरुङले नेपाल भ्रमणका लागि आउने विदेशी पर्यटकलाई सेवा र सुरक्षा प्रदान गर्न पर्यटक प्रहरीले महत्वपूर्ण भूमिका खेलेको बताए ।
विस २०३५ मा स्थापना भएको पर्यटक प्रहरीले हाल देशभरका १० स्थानबाट पर्यटकलाई सेवा प्रदान गर्दै आइरहेको पर्यटक प्रहरी इकाइ भृकुटीमण्डपका प्रमुख, प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठले जानकारी दिए ।


