इटहरी । उपमहानगरपालिकाका कर्मचारीहरुलाई मनपरी सरुवा गरेको भन्दै कार्यपालिका सदस्यहरुले सरुवा बदर गर्न माग गरेका छन् । नेकपा एमाले सम्बद्ध कार्यपालिका सदस्यहरुले ज्ञापनपत्र बुझाउँदै उपमहानगरपालिकाले गरेको कर्मचारीहरुको आन्तरिक सरुवा बदर नगरे संघर्षमा उत्रिने चेतावनी दिएका छन् ।
राजनीतीक पूर्वाग्रहका आधारमा मापदण्डविपरीत सरुवा गरिएको र यस्तो कार्यले कर्मचारीहरुलाई हतोत्साहि बनाएको सदस्यहरुको आरोप छ । दुई दुई वर्षमा सरुवा गर्ने सामान्य नियमसमेत पालना नगरी प्रत्येक वर्ष कर्मचारी सरुवा गर्दा नयाँ ठाउँको अवस्था बुझ्न समय लाग्ने र त्यसले विकास निर्माण कार्य प्रभावित बनाएको दावी गरिएको छ ।

यस्तै उपमहानगरपालिकाको सांगठानिक संरचना व्यवस्थापनमा समेत हुँदै नभएका शाखा महाशाखा थपघट गरेकोमा समेत उनीहरुको विरोध छ ।
प्रमुख प्रशासकीय अधिकृत रामचरित मेहतालाई बुझाएको ज्ञापनपत्रको बोधार्थमा नगर प्रमुख, संघिय मामिला तथा स्थानीय विकास मन्त्रालय, अख्तियार दुरुपयोग अनुसंन्धान आयोगको कार्यालय र जिल्ला प्रशासन कार्यालय उल्लेख गरिएको छ ।
कर वृद्धिको विरोधमा एमाले जनप्रतिनिधिहरु आन्दोलित रहेकै समयमा भएको कर्मचारी सरुवाले झन् तनावपूर्ण स्थिती सृजना गरेको छ ।



