विराटनगर : कोशी प्रदेश सरकारका मुख्यमन्त्री उद्धव थापाले आजै विश्वासको मत लिनुहुनेभएको छ । विश्वासको मत लिने प्रयोजनका लागि प्रदेशसभाको बैठक दिउँसो ३ बजेका लागि बोलाइएको प्रदेशसभाका सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए ।
प्रदेशसभाको बैठक इस्राइल मन्सुरीले सञ्चालन गर्नुहुनेछ । उपसभामुख सिर्जना दनुवारले स्वास्थ्यमा अचानक समस्या आइ प्रदेश बाहिर जानु परेको भन्दै बैठक सञ्चालनको जिम्मेवारी इस्राइल मन्सुरीलाई दिए ।
उपसभामुख दनुवारले सचिवालयमार्फत लेखेको पत्रमा भदौ ४ गते र तत्काल सोभन्दा पछिको सभाको बैठकको अध्यक्षता गरी सभाको बैठक सञ्चालन गर्न असमर्थ भएको उल्लेख गर्नुभएको थियो ।
कोशी प्रदेशसभामा सभामुख र उपसभामुखको अनुपस्थितिमा बैठक सञ्चालनका लागि चार जना सदस्य तोकिएको थियो । जसमा ज्येष्ठ सदस्य मालतीकुमारी लिम्बुले भदौ १ गते अनुपस्थित हुने सूचना दिइसक्नुभएको छ भने वर्णानुक्रमअनुसार रहनुभएका अम्बरबहादुर बिस्टले पनि भदौ १ गते नै सोही व्यहोराको सूचनामा थियो । सोही कारण मन्सुरीलाई बैठकको अध्यक्षता गर्नका उपसभामुख दनुवारले पत्र लेखेका छन् ।


