विराटनगर : कोशी प्रदेशमा सभाध्यक्षको भूमिकामा रहेका इस्राइल मन्सुरीले मुख्यमन्त्री उद्धव थापाको पक्षमा मतदान गरेपछि एमालेले त्यसको कानुनी उपचार खोज्ने भएको छ ।
सोमबार कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले सभाध्यक्षको मत प्रयोग गरेर विश्वासको मत लिएपछि एमालेले अदालत जाने तयारीमा रहेको छ ।
प्रदेशसभाको अध्यक्षता गरिरहेका ज्येष्ठ सदस्य इस्राइल मन्सुरीले गीता तिमल्सिनालाई बैठकको अध्यक्षता गराएर मुख्यमन्त्रीलाई विश्वासको मत दिन गएपछि लफडा भएको थियो । मत विभाजन हुँदै गरेको बेला सभामुख परिवर्तन गरी मन्सुरीले विश्वासको मत दिएका हुन् ।
अध्यक्षता गर्ने ब्यक्ति परिवर्तन गरेर मतदान गरेपछि मुख्यमन्त्री थापाको पक्षमा ४७ मत पुगेको छ । कोशीमा यो बहुमत संख्या हो । बिपक्षमा ३० मत परेको छ ।
एमाले संसदीय दलका नेता हिक्मत कार्कीले यो सरकार वैधानिक नभएको बताए । उनले भने, “हामी यसको राजनीतिक र कानुनी उपचार खोज्छौँ । गठबन्धनले बारम्बार संविधान विरोधी काम गरिरहेको छ ।”


