विराटनगर / विराटनगरको ग्रीनक्रस अस्पतालबाट गायब गरिएकी एक दिने शिशुलाई प्रहरीले फेला पारेको छ । बिक्री गरेको अवस्थामा मोरङको कटहरी गाउँपालिका- २ मा फेला पारेको हो ।
उद्दार गरिएकी शिशुको अवस्था सामान्य रहको छ । एक दिने नवजात शिशुलाई गायब गरेको आरोपमा पक्राउ परेका डाक्टर र बच्चाको बुबामाथि अनुसन्धान गरिहेको प्रहरीले प्रारम्भीक अनुसन्धानका क्रममा डाक्टर कर्णले ५० हजार रुपैयाँमा बिक्री गरेको देखिएको बताएको छ । अस्पतालमा प्रसूति गराउँदा उनले ३५ हजार रुपैयाँ लिएका थिए ।
आफ्नो सन्तानलाई गायब गरेको भन्दै शिशुको आमाले जाहेरी दिएपछि प्रहरीले प्रसूति रोग विशेषज्ञ डाक्टर तपेश्वरलाल कर्ण र बच्चाको बुबा गोबिन्द राईलाई पक्राउ गरेको थियो । उनीहरुमाथि अनुसन्धान गर्ने क्रममा मोरङ कटहरी गाउँपालिका- २ की दिलमाया राजवंशीलाई बिक्री गरेको खुलेको थियो ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार शिशु किनबेचका लागि अस्पतालकै कर्मचारीले डिल गरेको देखिएको प्रहरीले बताएको छ । बच्चा बिक्रीमा सहयोग गरेको आरोपमा प्रहरीले अस्पतालकी कर्मचारी सुधा राजवंशी र डाक्टर कर्णको क्लिनिका कर्मचारी निर्मला यादवलाई पनि पक्राउ गरेको छ ।


