विराटनगर : विराटनगर महानगरपालिकाकी उपमेयर शिल्पा निराला कार्कीले लागूऔषध प्रयोग गर्न छाडेका युवालाई परिवार र समाजमा पुनःस्थापना गर्न स्वरोजगार बनाउनुपर्नेमा जोड दिएकी छन् ।


रिकोभरिङ नेपालले विराटनगर महानगरपालिकाको न्यायिक समितिसित आयोजना गरेको अन्तरक्रियामा बोल्दै उपमेयर कार्कीले सुधार केन्द्र बसेर उपचार सकेका युवालाई घर र समाजमा पुनःस्थापित गराउन स्वरोजगार बनाउनु आवश्यक रहेको औंल्याएकी हुन् ।


लागूऔषध प्रयोग गर्न छाडेका युवाका लागि सीपमूलक तालिम सञ्चालन गरेर स्वरोजगार बनाउन सकिने उनको भनाइ थियो । “स्वरोजगार भएर पैसा कमाउन थालेपछि उनीहरुलाई समाजमा पुनःस्थापित हुन सहज हुन्छ,” उपमेयर कार्कीले भनिन, “स्वरोजगार बनाउन नसकेमा सुधार केन्द्र बसेर निस्किएका युवाले पुनः लागूऔषध प्रयोग गर्ने सम्भावना रहन्छ । त्यसबाट रोक्न लागि पनि उनीहरुलाई कसरी हुन्छ स्वरोजगार बनाउनुपर्छ ।” 


लागूऔषध प्रयोगकर्ताहरुको संख्या पछिल्लो समय बढ्दै गएकोमा उहाँले चिन्ता व्यक्त गरीन् । महानगरपालिकाका तर्फबाट लागूऔषध प्रयोगको रोकथाम र नियन्त्रणका लागि काम भइरहेको समेत जानकारी दिए । उनले विद्यालयस्तरदेखि नै लागूऔषधविरुद्धको अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिइन् । 


न्यायिक समितिका सदस्य तीर्थेन्द्र नेउपानेले लागूऔषध प्रयोगले घरपरिवारसँगै समाजलाई नै समस्यामा पारेको धारणा राखे । उनले वडास्तरदेखि नै लागूऔषधविरुद्धका सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नु जरुरी रहेको उल्लेख गरे ।


अन्तरक्रियामा रिचमण्ड फेलोसिपका कार्यक्रम व्यवस्थापक तथा रिकोभरिङ नेपालका उपसभापति संजीव चापागाईंले लागूऔषध ऐन-२०३३ संशोधन गर्नुपर्नेमा जोड दिए । उहाँले २०३३ सालमा बनेको लागूऔषध ऐन अहिलेको अवस्थामा व्यवहारिक नहुने तर्क गरे ।

अन्तरक्रियामा रिकोभरिङ नेपालका सभापति चन्द्र बराल, महासचिव जय देवकोटा, स्पर्श नेपालका संजीव खड्का, महानगरको कानुनी सल्लाहकार ज्ञानेन्द्र थापा, डिल्ली घिमिरे, कानुन शाखाकी अधिकृत शारदा थपलियालगायतले आ-आफ्ना धारणा राखेेका थिए ।