सुनसरी / स्थानीय प्रशासनले धरानमा सुरक्षा व्यवस्था कडा बनाएको छ । धार्मिक अभियान्ताको प्रदर्शनमा सामाजिक सद्भाव भड्किन सक्ने भन्दै जिल्ला प्रशासन कार्यालयले धरानमा शुक्रबार रातिदेखि निषेधाज्ञा गरेको छ ।
निषेधाज्ञा जारी भएकोले धरान शान्त छ । धरान प्रवेश गर्ने नाकामा कडाइ गरिएको छ । बाक्लो मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ । धरान प्रवेश गर्ने सवारी साधनलाई चेकजाँच गरेर मात्रै पठाइएको छ । सुनसरीका प्रहरी उपरीक्षक (एसपी) प्रभु ढकालले धरानमा अवस्था सामान्य भएको छ ।
धरानमा निषेधाज्ञा भएपछि हिन्दूवादीहरूले भने इटहरीमा प्रदर्शन गरिरहेका गरेका छन् । प्रदर्शनका लागि विराटनगरबाट अभियान्ताहरु गाडी रिजर्भ गरेर गइरहेका छन् ।
धरानमा गोरु काटेर भोज गरेको भनिएको भिडियो सामाजिक सञ्जालमा बाहिरिएपछि पहिचान पक्षधर र हिन्दू पक्षधरहरूबीच आरोप, प्रत्यारोप सुरु भएसँगै आज हिन्दुवादीहरूले शान्तिपूर्ण र्याली प्रदर्शन गर्ने कार्यक्रमसमेत तय भएपछि प्रशासनले धरानमा निषेधाज्ञा जारी गरेको छ ।
निषेधाज्ञा जारी गरेपछि ॐ कार परिवारले शुक्रबार साझ इटहरीमा पत्रकार सम्मेलन गर्दै धरानमा गएर शान्तिपूर्ण र्याली प्रदर्शन गरेरै छाड्ने जनाएका छन् ।


