इटहरी / इटहरी उपमहानगरपालिकाले भोलि आइतबारदेखि मुख्य राजमार्ग क्षेत्रमा तीन पाङ्ग्रे ई–रिक्सा (सिटी सफारी) चलाउन रोक लगाउने भएको छ ।
इलाका प्रहरी कार्यालय इटहरी, ट्राफिक प्रहरी कार्यालय, इटहरी उपमहानगरपालिका र सफारी सन्चालकका नेतृत्व बिच सहमतिमा इटहरीमा अत्याधिक सिटी सफारीहरुले दुर्घटना निम्त्याएको भन्दै मुख्य हाइवेमा भोलि देखि प्रतिवन्ध लगाउने गरि निर्णय भएको इटहरीका मेयर हेमकर्ण पौडेलले बताए ।
अबदेखि सिटी सफारीहरु मुख्य सडकमा यात्रुलाई कुरेर बस्न र जथाभावि यात्रु चढाउन तथा ओराल्न भने पाउने छैनन मेयर पौडेलले भने । बाटोमा जाम गरेको र दुर्घटना बढाएको भन्दै इटहरीका मुख्य राजमार्गमा सिटी सफारी गुड्न नदिने निर्णय गरिएको हो ।
शुक्रवार इटहरी उपमहानगरपालिकामा बसेको बैठकले इटहरीको मुख्य चोक र राजमार्ग क्षेत्रमा अन्य सवारीसाधन गुड्न पनि असहज भएकोमा सफारीले थप असहज पारेको भन्दै सफारीलाई मुख्य सडकमा निषेध गरिएको ट्राफिक प्रहरी कार्यालय कोशीका डिएसपी मोहन बिक्रम दाहालले बताए ।
अव्यवस्थित रूपमा रहेको ई–रिक्सा सवारी कार्यविधिअनुसार मात्र ई–रिक्सा दर्ता गरी चलाउन पाइने भएको छ । इटहरीमा अन्य पालिकाको सफारीहरु यात्रु पर्खेर बस्न पाउने बाध्यता हटेने छ । इटहरीमा मुख्य समस्याका रूपमा देखिएको ई–रिक्सा सवारी कार्यविधि बनेसँगै यातायात व्यवस्थापनमा सहजता हुने देखिएको छ ।


