सुनसरी / अखिल नेपाल महिला सङ्घ वडा नम्बर ५ समितिले नाचगानसहित ज्येष्ठ नागरिक सम्मान कार्यक्रम गरेको छ ।


इटहरी वडा - ५ स्थित सत्सङ्ग मन्दिर परिसरमा अखिल नेपाल महिला सङ्घ वडा नम्बर ५ समितिले तीजका अवसरमा नाचगानसहित ज्येष्ठ नागरिक सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ ।


कार्यक्रमका प्रमुख अतिथि अखिल नेपाल महिला सङ्घ केन्द्रीय सल्लाहकार मिथिला पोखरेलले ज्येष्ठ नागरिकहरूलाई सम्मान गर्दै तीजको नालीबेली विस्तार गर्दैै यस पर्वलाई महिला जागरण तथा चेतना अभिवृद्धि गर्ने रचनात्मक क्रियाकलापका साथ सम्पन्न गर्नुपर्ने बताइन् ।


उनले शिव पार्वतीको प्रणयको उच्च महत्त्व रहेको उल्लेख गर्दै यो विवाहमा अन्तर्जातीय सद्भाव बढाउने प्रणय रहेको बताइन् । शोभा निरौलाको सभापतित्वमा आयोेजित कार्यक्रममा एमाले कोसी प्रदेश सदस्य तथा नेता रामप्रसाद चौलागाईँ, पार्टी जिल्ला सदस्य बन्नुलाल चौधरी, मैना पाण्डे, मैना ढकालले मन्तव्य व्यक्त गरेका थिए ।


महिला र पुरुष गरी एक सय ३० जना ज्येष्ठ नागरिकलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो । सम्मानित हुनेहरू ७० वर्षभन्दा माथिको उमेरका ज्येष्ठ नागरिक थिए । पाँच सयभन्दा बढी सहभागी रहेको कार्यक्रममा नाचगानसहित हर्षोल्लासका साथ सम्पन्न कार्यकममा खिर र तराकारी खुवाइएको सङ्घ केन्द्रीय सल्लाहकार  पोखरेलले बताइन् ।