सुनसरी / उदयपुरको त्रियुगा नगरपालिकाले जनप्रतिनिधि र कर्मचारीहरूलाई स्थानीय सरकार सञ्चालन र व्यवस्थापनसम्बन्धी कानुनी व्यवस्थाबारे जानकारी गराउन प्रशिक्षण दिएको छ । 


नगरपालिकाले जनप्रतिनिधि र कर्मचारीका लागि नेतृत्व विकास, सकरात्मक सोच र नगरपालिका सञ्चालन विधिसम्बन्धी प्रशिक्षण सोमबारदेखि सुरु गरेको हो । जनप्रतिनिधि र कर्मचारीको काममा एकरुपता ल्याउन, अधिकार र जिम्मेवारीका बारेमा स्पष्ट हुने उद्देश्यका साथ कार्यक्रम गरिएको नगरपालिकाका मेयर वसन्त बस्नेतले जानकारी दिए । 


जनप्रतिनिधिहरूलाई आफ्नो अधिकार र कर्तव्यअन्तर्गत कानुनी व्यवस्थाका बारेमा जानकारी गराउँदा कार्यसम्पादनमा भिन्नता ल्याउने, सभा सञ्चालनमा स्पष्टता हुने, नागरिकहरूलाई प्रभावकारी र छिटोछरितो कसरी सेवा प्रवाह गर्ने र सामूहिक जवाफदेही बनाउने उद्देश्यले प्रशिक्षण कार्यक्रम राखिएको मेयर बस्नेतले बताए ।


योजना तर्जुमा, बजेट प्राथमिकीकरण तथा कार्यान्वयन सीप, स्थानीय सरकारको अधिकार र कानुन निर्माण प्रक्रिया तथा अभ्यास र व्यक्तित्व विकास, आत्मविकास, नेतृत्व सीप, नैतिकता र सदाचारका विषयमा संविधानविद् काशीराज दाहाल र स्थानीय शासन विज्ञ तथा पूर्व सूचना आयुक्त प्रमुख कृष्णहरि बास्कोटाले प्रशिक्षण दिएका थिए ।

IMG_20230905_151745

प्रशिक्षकहरूले सङ्घीय लोकतान्त्रिक संविधान र स्थानीय सरकार तहगत सरकारको समन्वय तथा अन्तरसम्बन्ध, लोकतन्त्र र सङ्घीयताको विश्व अभ्यास र नेपालका विषयमा पनि प्रशिक्षण दिएका थिए ।