इटहरी / इटहरी उपमहानगरपालिकाले तीन सय प्रतिशतभन्दा बढी कर वृद्वि गरेको विरोधमा नागरिक समाज इटहरीले चरणवद्व आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।
पत्रकार सम्मेलन गर्दै नागरिक समाज इटहरीले मौन धर्नादेखि नो ट्याक्स सम्मका आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो । उपमहानगरलाई कर वृद्विको विषयमा बारम्बार ध्यानाकर्षण गराउँदा पनि बेवास्ता गरेका कारण बाध्य भएर चरणवद्व आन्दोलन जानु परेको नागरिक समाज इटहरीकी अध्यक्ष बालिका खड्का भट्टराईले बताइन् ।
उनले आन्दोलनको पहिलो दिन भाद्र २० गते जनप्रतिनिधिहरूलाई एसएमएस पठाउने, भाद्र २१ गते सामाजिक सञ्जालबाट कर वृद्धिको विरोध पोस्ट गरी सेयर गर्ने कार्यक्रम रहेको छ ।
यस्तै भाद्र २२ गते इटहरी उपमहानगरपालिकामा अगाडि मौन धर्ना दिने, २३ गते सरोकारवालाहरूसँग छलफल तथा बृहत् भेला गर्ने र २५ गते ‘नो ट्याक्स घोषणा’ गरी बृहत् नागरिक भेला आयोजना गर्ने कार्यक्रम तय गरिएको छ । उपमहानगरले कर वृद्वि फिर्ता नभएर सम्म आन्दोलन जारी रहने जनाएको छ ।
जारी विज्ञप्तिमा भनिएको छ,‘इटहरी उपमहानगरपालिकाले हालसम्म न त नगर विकासको योजना बनाएको छ, न त खर्चको प्राथमिकीकरण निर्धारण नै गरेको छ। भएकै विकास बजेट आधा पनि खर्च गर्न नसकिरहेको अवस्थामा कर बापत संकलित रकमले इटहरीको विकास हुने समेत कुनै सम्भावना देखिँदैन ।’ भन्ने विषयमा उल्लेख गरिएको छ ।
इटहरी उपमहानगरपालिका अगाडि विभिन्न पार्टी संघ संस्थाले करको विषयमा विरोध गर्दै आएका छन् ।


