विराटनगर / कोशी प्रदेश एमाले संसदीय दलका नेता हिक्मत कार्की पुन मुख्यमन्त्रीमा नियुक्त हुने भएका छन् । सर्वोच्चले उद्धव थापालाई दोस्रो पटक पदबाट बर्खास्त गर्दै सबैभन्दा ठुलो दलका नेतालाई ४८ घण्टाभित्र मुख्यमन्त्री बनाउन परमादेश जारी गरेको छ ।

योसँगै प्रदेश प्रमुख पर्शुराम खापुङले उनलाई मुख्यमन्त्रीमा नियुक्त गर्ने छन् । मुख्यमन्त्री भएको ३० दिनभित्र उनले विश्वासको मत लिने छन् । साउन १६ गते मुख्यमन्त्री नियुक्त भएका थापाले भदौ ४ मा लिएको विश्वासको मत असंवैधानिक रहेको ठहर गर्दै सर्वोच्च अदालतका न्यायधीश सपना प्रधान मल्ल, कुमार चुँडाल र नहकुल सुवेदीको पूर्ण इजलासले उनलाई पदमुक्त गरेको हो ।

थापाले विश्वासको मत लिँदा प्रदेशसभा बैठकको अध्यक्षता गरेका इस्राइल अन्सुरीले समेत मत दिएका थिए । अन्सुरीले अध्यक्षमण्डलकी सदस्य गीता तिम्सिनालाई समामुखको कुर्सीमा बसाएर विश्वासको मत दिएका थिए ।

प्रमुख प्रतिपक्षी एमाले र राप्रपाले विरोध गरिरहँदा पनि अन्सरीले मुख्यमन्त्री थापा प्रदेशसभाबाट बहुमतसिद्ध भएको घोषणा गरेका थिए । तर, सर्वोच्चले भने नेपालको संविधान, संविधानवादको मान्य सिद्धान्त तथा यस अदालतबाट प्रतिपादित नजिर सिद्धान्तसमेतको प्रतिकूल देखिएको ठहर गर्दै त्यसलाई बदर गरिदिएको छ ।

‘संविधानले निर्देश गरेका स्वाभाविक विकल्पहरूको तदनुरूप नै प्रयोग गरिनुपर्दछ,’ आदेशमा भनिएको छ, ‘यस स्थितिमा संवैधानिक व्यवस्था तथा यस अदालतबाट भएको पूर्वआदेशबमोजिम उपधारा (३) बमोजिम प्रदेशसभामा सबैभन्दा बढी सदस्यहरू भएको संसदीय दलको नेतालाई मुख्यमन्त्री नियुक्त गर्नुपर्ने देखिन आयो।’

संविधानले नै मार्ग निर्देश गरेको अवस्थामा एउटै विकल्पमा पटकपटक नगई संविधानबमोजिमको विकल्पमा प्रवेश गर्नु नै स्वस्थ संवैधानिक अभ्यासको विकासका दृष्टिले उचित हुने देखिएको र प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्न नसकेमा विश्वासको मत प्राप्त गर्न सक्ने कुनै सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्न सकिने संवैधानिक व्यवस्था रहेको आदेशमा उल्लेख छ ।