विराटनगर / कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मत कार्कीसहित तीन मन्त्री र एक राज्यमन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
सर्वोच्च अदालतको परमादेशबाट कोशी प्रदेशको मुख्यमन्त्रीमा पुनः नियुक्त भएका कार्कीले शुक्रबार साँझ पद तथा गोपनीयताको शपथ लिएका हुन् । उनलाई प्रदेशप्रमुख पर्शुराम खापुङले शपथ ग्रहण गराएका हुन् ।
कोसी प्रदेशमा तीन मन्त्री र एक राज्यमन्त्रीसहित आजै मन्त्रिपरिषद् विस्तार हुने भएको छ । सर्वोच्च अदालतले संविधानको धारा १६८(३) अन्तर्गत हिक्मत कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्न परमादेश दिएसँगै आजै मन्त्रिपरिषद् विस्तार भएको हो ।
मुख्यमन्त्री कार्कीले तिलकुमार मेन्याङ्वो, एकराज कार्की पाँचकर्ण राईलाई मन्त्री नियुक्त गरेका हुन् । मेन्याङ्वो ताप्लेजुङ, कार्की झापा र राई खोटाङबाट विजयी भएका हुन् । तिलकुमारले खानेपानी मन्त्रालय, एकराजले भौतिक मन्त्रालय र पाँचकर्णले पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मा पाएका छन् ।
यस्तै भोजपुरकी सिर्जना राईलाई राज्यमन्त्रीमा नियुक्त गरिएको छ । उनी समानुपातिक तर्फबाट प्रदेशसभा सदस्य भएकी हुन् । उनलाई सामाजिक विकास मन्त्रालयको जिम्मा दिइएको छ । उनीहरू चारै जनाले पद तथा गोपनीयताको शपथ लिएका छन् ।


