इटहरी / इटहरीका सामुदायिक विद्यालयमा अध्यनरत छात्रछात्राहरुलाई गुणस्तरीय खाजा खुवाइने भएको छ ।
यसअघि प्रति विद्यार्थी १५ रुपैया उपलब्ध गराउँदै आएकोमा अब भने दहिचिउरादेखि मासु र पनिरसमम खुवाइने भएको हो । आइतबार प्रति विद्यार्थी २१० ग्राम हुने गरी तीन किसिमका फलफूल खुवाउनुपर्नेछ ।
यस्तै, सोमबार भुटेको अण्डा र चिउरा, मंगलबार मिक्स गेडागुडीसँगै चिउरा खुवाउपर्नेछ । बुधबार चामलको खीर र तरकारी खुवाउनुपर्नेछ । विहीबार दही, चिउरा र तरकारी, शुक्रबार खसी वा कुखुराको मासु र चिउरा खुवाउनुपर्नेछ । शाकाहारीका लागि भने मटर–पनीर र चिउरा खुवाउनुपर्नेछ । जंक फुड नखुवाउन उपमहानगरले पहिलोपटक दिवा खाजाको टेण्डर जारी गरेको हो ।
नेपाल सरकारले दिवा खाजा कार्यक्रमअन्तर्गत कक्षा १ देखि ६ सम्मका विद्यार्थीलाई खाजा खुवाउँदै आएको छ । संघीय सरकारले स्थानीय तहमार्फत विद्यार्थीको दिवा खाजाको रकम विद्यालयलाई प्रदान गर्दै आएको थियो ।
अहिले नयाँ तालिकाअनुसार खाजा खुवाउँदा चालु आर्थिक वर्षमा नौ करोड ३२ लाख ६ हजार २० रुपैयाँ ८८ पैसाको लागि टेण्डर खोलेको छ ।
इटहरीका मेयर हेमकर्ण पौडेलले संघीय सरकारबाट प्राप्त १ करोड ९८ लाख रुपैयाँ ८४ हजार रुपैया अनुदान र बाँकी उपमहानगरपालिकाको लगानी रहने बताए । इटहरीमा ५० वटा शिक्षालयमा दिवा खाजाको व्यवस्था छ । यी विद्यालयका आठ हजार २८ जनाले खाजाको सुविधा पाइरहेका छन् ।


