सुनसरी / नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अझै २० वर्ष सक्रिय रहने बताए ।
अध्यक्ष ओलीले २० वर्ष आफू सक्रिय रहन्छु भन्नुको अर्थ देश र पार्टीको नेतृत्व लिइरहन्छु भन्ने नरहेको पनि स्पष्ट पारे । शनिवार विद्यार्थीहरूसँग अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले आफू सक्रिय रहेर देश र पार्टीको नेतृत्व गर्नेलाई सहयोग गर्ने बताए । त्यस अवसरमा अध्यक्ष ओलीले बाँचुन्जेल पद नछोड्ने प्रवृत्तिलाई आफूले तोड्न चाहेको समेत बताए ।
बाँचुन्जेलसम्म पद छोड्ने नखोज्ने, पदमै टाँसिन खोज्ने प्रवृत्तिलाई आफूले आफ्नो व्यवहारबाट तोड्न चाहेको उहाँको भनाई थियो । ओलीले देशमा तस्करी, कमिसनखोरी, भ्रष्टाचारीको बिगबिगी रहेको जिकिर गर्दै अबको २० वर्षपछि त्यस्तो अवस्था देख्न नपर्ने समेत बताए ।
आफू सक्रिय रहँदारहँदै कार्यभार अरुलाई सुम्पिएर सहयोग गर्ने देश चलाउनका लागि । अब २० वर्षपछि नेपाल हामी नेपालको दुर्दशाको, नेपालको दूरदिनको अन्तिम किस्तामा छौं । यो अहिलेको दूर्दशा, दूरदिन भनेको नेपालको अन्तिम दूरदिन हो । यसभन्दा पछि यस्तो दूरदिन देख्नुपर्दैन । आज विकास निर्माणको चर्चा छैन । उत्पादन बढेको छैन, घटेको छ । विकास निर्माण भएको छैन, ठप्प छ । सुशासन होइन, कुशासन छ । आर्थिक स्वच्छता, पारदर्शिता होइन, तस्करी, कमिशनखोरी, भ्रष्टाचारीको बिगबिगी छ ।’
अध्यक्ष ओलीले आफूले नेपालबिरुद्धको षड्यन्त्रलाई पराजित गर्न नसकिरहेको उल्लेख गर्दै नयाँ पुस्ताले त्यसलाई पराजित गरेर अघि बढ्नुपर्ने बताए । उनले आफूलाई देश र जनताप्रति माया गर्ने इमान्दार राजनीतिकर्मीको रुपमा बुझिदिन पनि आग्रह ।
ओलीले भन्नुभयो, ‘मेरा केही असफलताहरु छन् । मैले नेपालबिरुद्धको षड्यन्त्रलाई पराजित गर्न सकिराखेको छैन । तपाईहरुले ती षड्यन्त्रहरुलाई पराजित गर्नुपर्दछ । र, नेपाललाई साँच्चैको सार्वभौम, साँच्चैको स्वतन्त्र, साँच्चैको स्वाधिन, आफ्नो भुगोलको बिल्कुलै रक्षा गर्नसक्ने र राष्ट्रिय हीतको रक्षा गर्नसक्ने र राष्ट्रिय स्वाभिमानको झण्डामाथि उठाउन सक्ने हुनुपर्दछ । म तपाईहरुसँग त्यो अपेक्षा गर्दछु । त्यसैले म आफूलाई अब्बल राजनीतिज्ञ त भन्न सक्दिन आफूलाई । यति चाहीँ हो–म इमानका साथ काम गर्छु । इमान्दार प्रयास गर्छु । देशलाई माया गर्छु, जनतालाई माया गर्छु । राष्ट्रको सम्पती कुनै हिसावले आफ्नो बनाउनु हुन्न भन्ने मान्यता राख्दछु ।’
कार्यक्रममा ओलीले आफूलाई देशभक्तिले ओतप्रोत भएको गीत बढी मनपर्ने पनि बताउनु भएको थियो । उहाँले विद्यार्थीसँगको अन्तरक्रिया कार्यक्रमबाट आफू खुशी भएको प्रतिक्रिया समेत जानकारी दिए ।


