विराटनगर / विराटनगर महानगरपालिकालाई केन्द्रविन्दु बनाएर विभिन्न प्रदर्शन, जुलुस, धर्ना जस्ता कार्य गर्न नदिन मोरङ प्रशासनले दुई महिना निषेधाज्ञा गर्ने निर्णय गरेको छ ।
जिल्ला प्रशासन कार्यालय मोरङले असोज १ गते सोमबारदेखि लागू हुनेगरी विराटनगरमा दुई महिना निषेधज्ञाको आदेश जारी गर्ने निर्णय गरेको हो । मोरङका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले आइतबार एक सूचना जारी गर्दै निषेधाज्ञा गर्ने जनाएका छन् ।
प्रशासनले महानगरको देवकोटा चोकदेखि पश्चिमको अस्पताल चोक, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, रोडशेष चोकदेखि दक्षिण जतुवा चोक, मुख्यमन्त्री निवासको तीन सय मिटर वरपरको क्षेत्र, प्रदेश प्रमुखको कार्यालयदेखि तीन सय मिटर वरपर र जिल्ला प्रशासन कार्यालय आसपासका क्षेत्रमा निषेधज्ञा आदेश जारी गरेको छ । उक्त स्थानमा सर्वसाधारण र सवारी साधन आवतजावतबाहेक कुनै पनि किसिमका सभा, जुलुस, भेला र र्याली निकाल्न निषेध गरिएको सूचनामा छ ।



