सुन्दरहरैंचा / राष्ट्रिय संविधान दिवसको सदुपयोग गर्दै सगरमाथा साहित्य प्रतिष्ठान कोशी, डियर कल्याण साहित्य प्रतिष्ठान सुनसरी र एरिना टेलिभिजनले इटहरीमा ‘सम्झना र सिर्जनामा मोतीराम’ तथा सुन्दरहरैँचा साइकल राइडर्सले विराटचोकमा ‘बृहत् गजल महफिल’ आयोजना गजलमय बनाएका हुन् ।
कार्यक्रममा दुई दर्जनभन्दा बढी सर्जक तथा कलाकारहरूले नेपाली गजल वाचन तथा गायन गरेका थिए । सगरमाथा साहित्य प्रतिष्ठान कोसीकी अध्यक्ष मिश्रा गुरुङको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा अग्रज गजलगो मधु पोखरेल मुख्य आमन्त्रित तथा गजलगो हरि कट्टेल विशेष आमन्त्रित थिए ।
कार्यक्रममा टीका आत्रेय, मुना आत्रेय, प्रिन्स प्रमोद ढकाल, राधा सुवेदी, रमेन्द्र कोइराला, केशव जी, किस्मत खतिवडा, अभिमन्यु अभिजित, तारा भट्टराई, विन्दु ओझा, विनोद थापा, श्याम श्रेष्ठ, राधा भट्टराई, उत्तम पोखरेल, लक्ष्मीनारायण जोशी, मञ्जु दाहाल घिमिरे, हरि पराजुली, अर्जुन धमला, कृष्णप्रसाद गौतम, राज भट्टराई, टङ्क राजवंशी, शोभा कोइरालालगायतले गजल सुनाएका थिए ।
कार्यक्रमको प्रारम्भमा बोल्दै समीक्षक मदनराज बरालले युवा कवि मोतीराम भट्टका गजल, पत्रकारिता, समीक्षा, काव्यलेखन, जीवनीलेखन आदि विविध क्षेत्रमा रहेको मानक व्यक्तित्वबारे चर्चा गरेका थिए ।
कार्यक्रममा उपस्थित स्रष्टालाई डियर कल्याण साहित्य प्रतिष्ठान सुनसरीका अध्यक्ष विनोद विवश घिमिरेले स्वागत तथा सगरमाथा साहित्य प्रतिष्ठान नेपालका संरक्षक जिपी तिवारीले सहयोगी–शुभेच्छुकहरूलाई धन्यवाद ज्ञापन गरेका थिए ।
सुन्दरहरैँचा साइकल राइडर्सले विराटचोकमा आयोजना गरेको ‘बृहत् गजल महफिल’मा गजलगोहरू बाबु त्रिपाठी (काठमाडौँ), सङ्गीता थापा (मकवानपुर), किशोर कोइराला (सुनसरी) तथा अनुप अनुपम (मोरङ)ले पाँच–पाँचवटा गजल सुनाएका थिए ।
छवि वैरागी घिमिरेले संयोजन गरेको सो कार्यक्रमका झापाका गजलगो विवश बलिभद्र कोइरालालाई विशेष सम्मान गरिएको थियो । प्रदेश सांसद नरेन्द्र सुवेदी मुख्य आमन्त्रित रहेका थिए ।


