सुनसरी / नेकपा एमालेका कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक रेवतिरमण भण्डारीले होटल तथा प्रदेश सभाहरूमा हुने दलहरूको गोप्य बैठकको समाचारमा पत्रकारहरू चुकेको बताए ।
भर्खरै पनि प्रदेश सभा सचिवालयमा रहेको मुख्यमन्त्रीको कार्यकक्षमा असोज १ गते बसेको बैठकका बारेमा पत्रकारले थाहा समेत नपाएको उनले बताए । कतिपय होटलहरुमा बस्ने त्यस्ता गोप्य बैठकको बारेमा संसदीय रिपोर्टिङ गर्ने पत्रकारहरूले कतिपय अवस्थामा थाहा नै नपाएको भण्डारीले सुनाए ।
कोसी प्रदेश संसदीय पत्रकार मञ्चका पत्रकारसँग अन्तर संवाद गर्दै प्रमुख सचेतक भण्डारीले आफ्नो अनुभव यसरी सुनाएका हुन । कोशी प्रदेशमा माननीयसँग संसदीय पत्रकार अन्तर संवाद सुरु भएको छ । संसदीय पत्रकार मञ्च कोसी प्रदेशको आयोजनामा बिहीबारदेखि अन्तर संवाद सुरु भएको हो ।
हरेक १५ दिनमा अन्तर संवाद गर्नेगरि कार्यक्रम सुरु भएको संसदीय पत्रकार मञ्च कोसी प्रदेशका अध्यक्ष कुमार लुइँटेलले जानकारी दिए । शृङ्खलाको पहिलो कार्यक्रममा नेकपा एमाले कोसी प्रदेश संसदीय दलका प्रमुख सचेतक रेवतिरमण भण्डारीले आफ्नो अनुभव सुनाए ।
यो कार्यक्रममा माननीयहरूले आफ्नो राजनीति अनुभव, संसद्मा खेलेका भूमिका तथा सुख दुःखका कुराहरू पत्रकारलाई सुनाउनेछन् । प्रमुख सचेतक भण्डारीले संविधान सभाको सदस्यको रूपमा त्यहाँ पुग्दाको भूमिका, त्यहाँ कानुन बनाउँदाको अनुभव सुनाए ।
संविधानसभामा बसेर काम गरेको अनुभवको आधारमा कोसी प्रदेश सरकार स्थापना भएसँगै कोसी प्रदेशमा कानुन मस्यौदा समितिमा रहेर काम गर्ने अवसर पाएर धेरै कानुनको मस्यौदा ड्राफ्ट गर्न पाएको उनको अनुभव छ ।
अहिले प्रदेश सभामा निर्वाचित भएर आएपछि प्रमुख सचेतकको जिम्मेवारी पाएकोले आफ्नो महत्त्वपूर्ण भूमिका रहेको उनले सुनाए । कार्य व्यवस्था परामर्श समितिको बैठकको बारेमा छलफल हुने कुराले अर्थ राख्ने उनको भनाई छ । त्यहाँ भित्र प्रदेश सभामा के गर्ने भन्ने बारेमा छलफल हुने र निष्कर्ष निकाल्ने अवस्था आउने बताए ।
आगामी असोज २० गते भित्रमा अहिलेको मुख्यमन्त्रीले विश्वासको मत लिने बताए । बजेट शून्यता हुन नदिनको लागि चाँडै नै प्रदेश सभामा बजेट अध्यादेश पेस हुने र त्यसको विस्थापन ऐन पनि पारित गरेर जाने तयारी रहेको समेत उनले स्पष्ट पारे ।


