इटहरी / इटहरी उपमहानगरपालिका अगाडि राष्ट्रिय स्वतन्त्र पार्टीले करको मूल्य वृद्धि विरुद्धमा १७ हजार बढीको हस्ताक्षर संकलन गरेको छ ।
कर घटाउनका लागि गत साउन १७ गते मेयर हेमकर्ण पौडेललाई ज्ञापन पत्र बुझाएको रास्वपाले २३ गतेदेखि लगातार उपमहानगरपालिका धर्ना तथा हस्ताक्षर संकलन अभियान चलाएको रास्वपा कोशी प्रदेश प्रवक्ता कमल बाबु मैनालीले जानकारी दिए ।
हस्ताक्षर गर्ने हरेकको विवरणसहित मेयरलाई ज्ञापन पत्र बुझाउने तयारी गरेको मैनालीले जानकारी दिए । कर घटाउने प्रक्रिया अगाडी नबढे घरघरमा पुगेर हस्ताक्षर अभियान चलाउने उनले बताए ।
यता उपमहानगरपालिकाले भने कर घटाउन कुनै चासो दिएको छैन । व्यापक दबाबपछि एक महिनाअघि कार्यपालिका बैठकबाट कर समायोजन तथा पुनरावलोकन समिति गठन गरेपनि उपमहानगरपालिकाले कर घटाउन नचाहेका कारण समितिले समेत काम गर्न सकेको छैन । सदस्यहरुको लापरवाही र कार्यव्यस्तताको बहानाका कारण बैठक समयमा बस्न नसक्दा समितिले प्रतिवेदनको ड्राफ्टसमेत बनाउन नसकेको हो ।


