विराटनगर / नेकपा एमाले कोशी प्रदेश कमिटीको प्रथम प्रदेश अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ । बिहीबार प्रदेश अधिवेशन प्रचार प्रसार उपसमितिले विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गरी अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो ।


एमालेको प्रथम कोशी प्रदेश अधिवेशन भोलि (शुक्रबार) बाट सुरु हुँदै छ । विराटनगरको मनास्लु होटलमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले आज शुक्रबार अधिवेशनको उद्धाटन गर्नेछन् ।


दुई दिनसम्म चल्ने प्रदेश अधिवेशनका लागि प्रदेशका १४ वटै जिल्ला र जनसंगठनबाट प्रतिनिधि छनोट भइसकेका छन् । अधिवेशनका लागि प्रदेशभरबाट एक हजार ४७ प्रतिनिधि छनोट भएका छन् ।


अधिवेशनमा भूगोलबाट ९६२ जना, युवाबाट ५३, मजदुरबाट ३२ जना र ३३४ जना महिला प्रतिनिधि छनोट भएका छन् ।


प्रदेश अधिवेशन प्रचार–प्रसार उपसमितिका संयोजक एवं प्रदेश कमिटीका उपसचिव शैलेश लामाका अनुसार एमाले अध्यक्ष केपी शर्मा ओलीले रिमोटको स्वीच थिचेर अधिवेशनको ब्यानर उघार्ने कार्यक्रम तय गरिएको छ ।


एमालेको प्रथम अधिवेशनबाट प्रदेश कमिटीको अध्यक्ष बन्नका लागि अहिलेसम्म चारजना आकांक्षी देखिएका छन् एमालेले प्रदेश अध्यक्षलाई पोलिट्ब्युरो सदस्य सरहको मान्यता दिएपछि अध्यक्ष बन्न केन्द्रीय नेताहरु पनि लबिङमा छन् ।


एमाले केन्द्रीय सदस्य विनोद ढकाल, घनश्याम खतिवडा, वर्तमान प्रदेश अध्यक्ष तुलसीप्रसाद न्यौपाने र उपाध्यक्ष टीकाराम चेम्जोङ अध्यक्ष बन्ने लाइनमा छन् । चारै जनाले अध्यक्षको तयारी गरिरहेका छन् ।


एमाले अध्यक्ष ओलीको गृह प्रदेश भएका कारण पनि कोशीको अधिवेशनलाई चासोको रुपमा हेरिएको छ । प्रदेशमा सहमतिबाटै नेतृत्व चयन गर्न अन्तिमसम्म प्रयास गरिने नेताहरुले बताएका छन् ।


आकांक्षीहरुमा विनोद ढकाल अनेरास्ववियुको केन्द्रीय उपाध्यक्ष, मोरङको पार्टी सचिव, दुई पटक जिल्ला अध्यक्ष भएका नेता हुन् । विराटनगर निवासी ढकाल पूर्वमा एमालेका प्रभावशाली नेता मानिन्छन् ।


त्यस्तै वर्तमान अध्यक्ष न्यौपाने जिल्ला विकास समिति संखुवासभा सभापतिदेखि प्रदेश सांसद र प्रदेश मन्त्री भएका नेता हुन् । लामो समय पार्टीभित्र माधवकुमार नेपाल समूहमा रहेका न्यौपाने पार्टी विभाजनको समयमा माधव नेपालको साथ छोड्दै एमालेमै बसेका थिए ।


अर्का नेता खतिवडा भूमिगत कालदेखि नेकपा एमालेका समर्पित नेता हुन् । उनी मदन भण्डारीको कार्यकर्ताको रुपमा समेत काम गरेका र संघीय सांसद भइसकेका नेता हुन् । मोरङको लेटाङ निवासी खतिवडा पाका र पुराना नेताका रुपमा परिचित छन् ।


उनी २०५४ सालमा मोरङ जिल्ला विकास समितिको सभापति र २०७४ सालको संसदीय निर्वाचनमा मोरङ क्षेत्र नं. १ बाट निर्वाचित सांसद हुन् ।


त्यस्तै अहिलेका उपाध्यक्ष टिकाराम चेम्जोङ २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा निर्वाचित सांसद हुन् । धनकुटाको चौबिसे निवासी चेम्जोङ कोशीमा एमालेको बलियो पकड भएका नेता हुन् ।


लामो समयदेखि ओली समूहमै रहँदै आएका उनी २०४९ सालमा जिल्ला विकास समितिको उपसभापति, २०५४ सालमा जिल्ला विकास समिति सभापति निर्वाचित भएका थिए ।