विराटनगर / नेकपा एमालेका अध्यक्ष केपी ओलीले एमाले नेतृत्वको सरकारमा आफूले धेरै काम गरेको दाबी गरेका छन् ।
शुक्रबार विराटनगरको मनास्लु पार्टी प्यालेसमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टीको प्रदेश अधिवेशन उद्घाटन कार्यक्रम बोल्दै एमाले नेतृत्वको सरकारमा आफूले धेरै काम गरेको दाबी गरेका हुन् ।
अध्यक्ष ओलिले प्रधानमन्त्री प्रचण्डले विना अर्थको विदेश भ्रमण गरेको बताए । उनले प्रधानमन्त्रीले भ्रमणमा जादा देश र राष्ट्रिय हितको पक्षमा नवोलेको आरोप समेत लगाए ।
उनले दिनदहाडै खुँडा हानेर मान्छेको हत्या गर्ने कार्यकर्तालाई आममाफि दिने, आफ्ना अपराधी छुटाउने र प्रतिपक्षलाई दमन गरेर जेल हाल्ने काम यो सरकारले गरिरहेको भन्दै आक्रोस पोखे ।
प्रदेश अधिवेशनमा वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल, महासचिव शंकर पोखरेल, कोशी प्रदेश इन्चार्ज रघुवीर महासेठ, प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य, स्थायी कमिटी सदस्यहरू, केन्द्रीय कमिटी सदस्यहरु सहभागी रहेको थियोे ।
अधिवेशनमा एक हजार ४७ प्रतिनिधि सहभागी हुने अधिवेशन आयोजक समितिले जनाएको छ । प्रदेशका १३७ पालिका, २३ जनवर्गीय संगठन, दलित, मजदुरलगायत क्षेत्रका प्रतिनिधि र पर्यवेक्षक सहभागी रहेको प्रदेश अध्यक्ष तुलसिप्रसाद न्यौपानेले जानकारी दिए । आजको अधिवेशन १ हजारको नेता कार्यकर्ताको सहभागी रहेको उनले बताए ।
अधिवेशनले नयाँ कार्यसमिति चयन गर्नेछ । अध्यक्षका लागि घनश्याम खतिवडा र विनोद ढकाल मुख्य प्रतिष्पर्धी छन् ।


