‘भत्किएको सम्बन्ध’

 मिना श्रेष्ठ .

................


नहेरु भन्छु

घरीघरी जिस्काइरहन्छ,

भत्किएको सम्बन्ध

कोल्टे नफेरु भन्छु

कोट्याउँदै बोलाइरहन्छ,

बिर्सिएको सम्बन्ध


नहिँडु भन्छु

छोडेको त्यो बाटो,त्यहीँ दोबाटो 

पछ्याउँदै आइरहन्छ त्यही घुम्ती


मेरो पोल्टोको एक फ्वाक दुःख

के चाखेको थियो

चिन्दिन भन्न थालेको थियो 

मेरो छेउको रापले थोरै मात्र

के तातिएको थियो

पोल्छ भन्दै तर्किन थालेको थियो


एउटा उछ्वास्

उसलाई पोल्न थालेको छ

एउटा निश्वास उसलाई

साघुँरो लाग्न थालेको छ

सहवासको भो कुरै नगरौँ

नजिकको सामिप्यता पनि

यतिबेला पोल्न थालेको छ ।


कुनै नयाँ सम्बन्ध नखोज्नु

ठुलो परिभाषा पनि नखोज्नु

जति बाँचिएको छ जीवन

त्यती नै भो उपहार तिमीलाई


अब,

नयाँ परिभाषा नखोज्नु

मैले बाँचेको जीवन

आधा उपहार भो

बाँकी आफैमा गुम्याउनु

तिमी छेउ आइपुगेको छु


समर्पण भयो

अब कुनै

गुनासो नगर्नु

जीवनको कुनै

नयाँ परिभाषा नखोज्नु ।