सुनसरी / मन्त्रिपरिषद्ले पारित गरेर प्रतिनिधिसभामा दर्ता गर्ने तयारीमा रहेको संघीय निजामती सेवा विधेयक संशोधनको माग गर्दै मोरङको रतुवामाई नगरपालिकाका कर्मचारीहरु आन्दोलित बनेका छन् ।
स्थानीय तह कर्मचारी केन्द्रीय सङ्घर्ष समितिको आह्वानमा विधेयक सच्याउन माग गर्दै केही दिनदेखि काठमाडौँको माइतीघर मण्डलमा धर्ना र प्रदर्शनलगायत आन्दोलन भइरहेका छन् ।
काठमाडौँ आउन नपाएका कर्मचारीले आफू कार्यरत स्थानीय तहमै विरोधका कार्यक्रम गरिरहेका छन् । सोही अनुरुप रतुवामाईका कर्मचारीले पनि आइतबार आन्दोलन गरेका हुन् ।
उनीहरुले संघीय निजामती ऐनको सट्टा एकीकृत निजामती ऐन जारी गरिनुपर्ने, संघीय, प्रदेश र स्थानीय सेवाको पदमा वहाल रहेका स्थायी कर्मचारीहरूलाई निजामतीको परिभाषाभित्र समेटिनुपर्ने, तीनवटै तहमा तहगत प्रणाली लागू गरिनुपर्ने, स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृतको पद स्थानीय सेवाको नै रहने व्यवस्था गरिनुपर्नेलगायत माग राखेर आन्दोलन गरिरहेका छन् ।


