सुनसरी / कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका सांसद केदार कार्कीले दाबी पेश गरेका छन् ।
नेपाली कांग्रेसको शेखर कोइराला पक्षका ८ प्रदेशसभा सदस्यसहित एमाले सांसदहरुको समर्थनमा कार्कीले प्रदेश प्रमुख परशुराम खापुङसमक्ष दाबी पेस गरेका हुन् ।
कोशी प्रदेश एमाले संसदीय दलको कार्यालयमा भेला भएर एमाले र कांग्रेसका सांसदहरुले प्रदेश प्रमुखको कार्यालय गएर दावी पेस गरेको एमाले प्रदेश संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले जानकारी दिए ।
यसअघि कांग्रेसको सो समूहले कांग्रेसका ८ सांसदको हस्ताक्षर संकलन गरेको थियो । कांग्रेस सभापति शेरबहादुर देउवाले माओवादीका इन्द्र आङ्बालाई मुखयमन्त्री दिने सहमति गरेपछि कोइराला पक्षले हस्ताक्षर संकलन गरेर मुख्यमन्त्रीको दाबी गर्न लागेको हो ।
कोशीमा कांग्रेस २९ प्रदेश सांसद छन्, उनीहरुमध्ये ९ जना कोइराला पक्षमा छन् । उदयपुरका रामकुमार खत्री, लिलाकुमारी राई, इलामका शमशेर राई र गोविन्द गिरी, झापाकी इन्दिरा थापा, मोरङका मानबहादुर लिम्बू, सुनसरीका सुनिता गुरुङ र केदार कार्कीले हस्ताक्षर गरेको बताइएको छ ।


