सुनसरी / भोजपुरको पौवादुङमा गाउँपालिकामा नवनिर्मित विद्यालय भवनको उद्घाटन गरिएको छ ।
पौवादुङमा -३ स्थिति च्याङ्ग्रेको पञ्चकन्या माध्यमिक विद्यालयको नवनिर्मित १२ कोठे भवनको उद्घाटन गाउँपालिका अध्यक्ष किरण राईले उद्घाटन गरेका हुन् ।
नेपाल सरकार तथा साउदी अरव सरकारको सहयोगमा भवन निर्माण गरिएको हो । बाह्र कोठा रहेको भवन भ्याट बाहेक तीन करोड २४ लाख लागतमा निर्माण गरिएको हो । भवन निर्माणको लागि पाँच करोडको वोलपत्र आह्वान भएको थियो ।
कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अथिति राईले धेरै समयको अथक प्रयासपछि पञ्चकन्या माध्यमिक विद्यालयमा नमूना भवन निर्माण गर्न सफल भएको बताए । यसले विद्यालयको शैक्षिक सुधारमा सहयोग पुग्ने अध्यक्ष राईको भनाइ छ ।
गाउँपालिकामा आउने बजेटले धेरै ठुला संरचना निर्माणमा सम्भव नरहेकाले सबै मिलेर प्रदेश र संघको बजेट भित्राउन पहल गर्नु पर्ने अध्यक्ष राईको भनाइ छ । विद्यालयहरुमा भौतिक संरचना निर्माणको काम भईरहेकोले अव शैक्षिक सुधारमा सबैले आ–आफ्नो ठाउँबाट भूमिका खेल्नु पर्ने उनको भनाइ छ ।
गाउँपालिकाको शैक्षिक सुधारको लागि योजनाबद्ध रुपमा काम भइरहेकोले यसबाट गुणात्मक परिणाम लिन सबैले जिम्मेवार बन्नु पर्ने आवश्यक रहेको अध्यक्ष राईले बताए । गाउँपालिकाले प्राविधिकसँगै आधुनिक शिक्षा जोड दिएको उनको भनाइ छ ।
विद्यालयमा सुविधा सम्पन्न भवन निर्माणले पठनपाठनमा सहजता थपिएको विद्यालयका प्रधानाध्यपक रामकुमार राईले बताए । गाउँपालिकाको पहलमा विद्यालयमा नमूना भवन बनेको उनको भनाइ छ । भावी दिनमा विद्यालयको शैक्षिक सुधारका क्षेत्रमा थप काम गर्ने उनको भनाइ छ ।
गाउँपालिकाले पाएको कुशल नेतृत्वको कारण विकासले गतिलिएको भूतपूर्व विद्यार्थी संघका सचिव काजीमान थापाले बताए । नेतृत्वको दुरदर्शी योजनाले शिक्षा क्षेत्रको सुधारमा सहयोग पुगेको उनको छ । भूतपूर्व विद्याथीहरुले पनि विद्यालयको शैक्षिक सुधारका लागि आवश्यक सहयोग गर्ने सचिव थापाले बताए ।
शिक्षा विकास तथा समन्वय इकाइ भोजपुरका प्रमुख रुद्र राईले जिल्लामा नै नमूना भवन बनेको बताए । भवन निर्माणको लागि गाउँपालिका अध्यक्षले खेलेको भूमिका प्रशंसायोग्य रहेको उनको भनाइ छ । विद्यालयको शैक्षिक सुधारको लागि काम भईरहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सन्तोष राईले बताए ।



